मीरा श्रेष्ठ, मंसीर ३
बेलौरी– बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रले बेलौरी मानव अधिकार समुहको सहयोगमा सोमबार प्राथमिक स्वास्थ्य केन्द्र परिसर भित्र रहेका सेफ्टी टंकी र शौचालय सफाई गरेको छ । विगत लामो समयदेखि सरसफाई नगरिएको हुनाले अत्यधिक फोहोर भई स्वास्थ्यचौकीमा आउने बिरामी तथा स्वास्थ्यचौकीकै वातावरण प्रदुषित भएपछि अब विलम्व गर्नै नहुने भन्दै सरसफाई गरिएको स्वास्थ्य प्रमुख गोविन्द बहादुर विष्टले बताए । ‟हाम्रो यहाँ खास स्वास्थ्यचौकीको लागि भएपनि पब्लिक ट्वाईलेट जस्तै बाहिरतिर बाट मानिसहरु आईदिने, डस्टविन राखेको भएपनि प्याडहरु जथाभावी भुईमा फाल्ने, पानी नराख्दिने गर्नाले धेरै फोहोर भएको हो”, उनी बताउछन् ।

एउटै मात्र शौचालय भएको र निकै पहिला निर्माण गरिएको हुनाले पुरानो संरचना अनुसार सेफ्टि टंकि जमिन देखि औसत भन्दा निकै तल भएको र वर्षातको समयमा पानी भरिनाले यस्तो समस्या आएको उनको भनाई छ । प्राविधिक टोलीलाई देखाएपनि उनीहरुले काम नगरिदिने र वडाअध्यक्ष तथा नगरपालिकासँग सहयोगको हात फिजाएतापनि बेवास्ता गरिएको उनको गुनासो छ । उनी भन्छन्, ‟हामीले वडा र नगरपालिकासँग पनि समस्या राख्यौँ । तर अस्पताल बनिरहेको भएर होला यहाँ उहाँहरुको खास ध्यानाकर्षण हुनसकेन ।” उनी थप्छन्, ‟तर अब त अति नै भयो भनेर हामीले सरसफाईको पहल गरेका हौँ र यो सँगै विभिन्न निकायबाट पनि समयसमयमा शौचालयको व्यवस्थापन गरिनुपर्छ भनेर आईरहेका थिए । त्यसैले आज सरसफाई भएको हो ।”

सरसफाईको बाबजुद आउँदा दिनमा समस्या ज्यु का त्यु हुनसक्ने सन्दर्भमा अब भने स्वास्थ्य केन्द्रले शौचालयमा आल्मुनियमको ढोका बनाउने र कार्यालय समयमा मात्रै खोल्ने निर्णय गरेको स्वास्थ्य प्रमुखले बताए । बिरामीहरु यस कुरामा सचेत भईकन पनि शौचालय प्रयोगमा हेलचेक्य्राई गरेको उनको गुनासो छ । तर अबका दिनमा बर्थिङ्ग सेन्टरभित्र रहेका शौचालयको प्रयोग गराएर बाहिर रहेको एकमात्र शौचालयको प्रयोगको अनुपात घटाएर जाने उनको जिकिर छ । यद्यपि हालको लागि काम टारेपनि भईपरि आउने समस्या तथा वर्षात्को समयमा भने आफ्नो तर्फबाट शौचालय व्यवस्थापनका लागि केहि गर्न नसकिने उनको भनाई छ । उनी भन्छन्, ‟अहिले त तत्कालको लागि हामीले यसो गरेका हौँ । अस्पताल बन्न पनि टाईम लाग्ने हो । त्यहिभएर सम्बन्धित निकायहरुले बरु यहाँ एउटा नयाँ संरचनामा शौचालय बनाईदिनुभयो भने निकै वेश हुने थियो ।” सँगै आफ्नो सरसफाई कर्मचारीको समेत केहि दोषी देखिए अनुसार उनीहरुसँग जाँचबुझ गर्दा पानी भरिएर सफा गर्नै नसकिने भएको बुझिन आएको उनको भनाई छ । स्वास्थ्य केन्द्रमा दैनिक ७०–८० को हाराहारीमा बिरामी आउने गर्दछन् ।
यस किसिमका कार्यको महत्वबारे मानव अधिकार समुहका बेलौरी संयोजक गोविन्द प्रसाद सापकोटाले भने, ‟स्वास्थ्य केन्द्रको सरसफाई एक अत्यावश्यक कार्य हो । यसले बिरामी तथासेवाग्राहीलाई स्वस्थ वातावरण प्रदान गर्छ । सार्वजनिक शौचालयहरु सफा र व्यवस्थित हुन अत्यन्त जरुरी छ । यसप्रकारका कार्यहरु आगामी दिनमा पनि निरन्तर गरिनुपर्छ ।”





