बेलौरी, कञ्चनपुर । नेपालीहरूको महान् पर्व बडादशैँ, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियास्थित संगम ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

असोज ३१ गते आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष एवं विद्युत् सहकारीका केन्द्रीय अध्यक्ष गोविन्द भट्टको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय निराशा चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शेयर सदस्य तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य चौधरीले मौलिक चाडपर्वहरूले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना जागृत गर्ने बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रको विद्युतीकरण र स्थानीय विकासमा संगम ग्रामीण विद्युत् सहकारीले पुर्याएको योगदानको प्रशंसा गर्दै ग्रामीण ऊर्जा क्षेत्रको सुदृढीकरणका लागि नीतिगत तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, कार्यक्रमका सभापति एवं विद्युत् सहकारीका केन्द्रीय अध्यक्ष गोविन्द भट्टले ग्रामीण भेगका नागरिकलाई सहज, सुलभ र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सहकारीले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय उपभोक्ताहरूको सहकार्यले नै संस्था आजको अवस्थामा आइपुगेको बताउँदै सम्पूर्ण शेयर सदस्य तथा आमनागरिकमा चाडपर्वको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।





