अनेरास्ववियूको केन्द्रीय सदस्य र कञ्चनपुर सह-इन्चार्जमा विद्यार्थि नेता प्रवीण भुल मनोनीत

अशोक सुन्याल, काठमाडौँ।

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक अध्यक्ष दीपक धामीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा सम्पन्न भएको छ।

बैठकपछि जारी सर्कुलर अनुसार सङ्गठनले समसामयिक शैक्षिक तथा राजनीतिक चुनौतीहरूको समीक्षा गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकमा एकातिर जटिल बन्दै गएका शैक्षिक समस्या र विद्यार्थी हक-हितका सवालहरू तथा अर्कातिर बलिदानीबाट स्थापित लोकतान्त्रिक प्रणाली र वैचारिक थलोहरूमाथि भइरहेको चौतर्फी हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

यस्तो विषम परिस्थितिमा आफ्नो ऐतिहासिक दायित्व पूरा गर्दै विद्यार्थी आन्दोलनलाई अझ बढी जिम्मेवार, अनुशासित, सङ्गठित र सशक्त रूपमा अगाडि बढाउने संकल्प अनेरास्ववियूले गरेको छ।

यसैबिच, अनेरास्ववियूको पूर्ण बैठकले लामो समयदेखि विद्यार्थी राजनीति र समाजसेवामा सक्रिय विद्यार्थि नेता प्रवीण भुललाई सङ्गठनको केन्द्रीय सदस्य पदमा सर्वसम्मत मनोनीत गर्नुका साथै कञ्चनपुर जिल्लाको सह-इन्चार्जको जिम्मेवारी सुम्पिएको छ।

विगत लामो समयदेखि सङ्गठनका विभिन्न कमिटीहरूमा रहेर सफल र प्रभावकारी नेतृत्व प्रदान गरिसक्नुभएका भुल निरन्तर अनेरास्ववियूको राजनीतिक यात्रामा क्रियाशील हुनुहुन्छ। विद्यार्थी हक-हितको संरक्षण, शैक्षिक सुधारका आन्दोलन र सांगठनिक विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका भुल राजनीतिसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय र लोकप्रिय हुनुहुन्छ।

प्रवीण भुलको केन्द्रीय कमिटीमा भएको मनोनयनले सङ्गठनको सांगठनिक सुदृढीकरण, शैक्षिक आन्दोलन र भावी कार्यदिशालाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास अनेरास्ववियूले लिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ