धनगढीको जुगेडा सीमा क्षेत्रबाट दश लाख बढीको अवैध सामग्री बरामद

कञ्चन आवाज, धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० स्थित जुगेडा कटान सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलको टोलीले दश लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको बेवारिसे अवैध सामग्री बरामद गरेको छ। भन्सार छलेर नेपाल भित्र्याउने उद्देश्यले राखिएको आशंका गरिएको उक्त सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सुराकीका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर त्रिनगर, बीओपी जुगेडा र बंगराकटानको २५ सदस्यीय संयुक्त टोलीले उक्त अपरेसन चलाएको थियो। सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले सीमा इलाकामा रहेको जस्तापाताले छाएको एक कच्ची घरगोठको छेउमा लुकाइछिपाइ राखिएको अवस्थामा ती सामान फेला पारेको हो।

बरामद गरिएका सामग्रीहरुमा मुख्यतया इलेक्ट्रोनिक्स उपकरण, मोबाइलका पार्ट्स र विभिन्न हार्डवेयरका सामानहरु रहेका छन्। प्रहरी मुचुल्का अनुसार उक्त बेवारिसे सामग्रीको अन्दाजी बजार मूल्य दश लाख सोह्र हजार पचास रुपैयाँ कायम गरिएको छ। तस्करहरुले अनुकूल समय मिलाएर गन्तव्यमा पुर्‍याउने उद्देश्यले सीमा क्षेत्रको उक्त कच्ची गोठलाई अस्थायी भण्डारण केन्द्र बनाएको हुनसक्ने सुरक्षा निकायको प्रारम्भिक अनुमान छ।

हाल नियन्त्रणमा लिइएका सम्पूर्ण सामग्रीहरु सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर त्रिनगर, कैलालीमा सुरक्षित राखिएको छ। आवश्यक कानुनी तथा कागजी प्रक्रिया पूरा गरी बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ