बेलौरी।
नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज विजया दशमीको दिन देशैभर हर्षोल्लासका साथ मनाइँदै छ। यस वर्षको विजया दशमीका दिन मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको भए पनि विजया दशमीको दिन दिनभर नै टीका लगाउन सकिने व्यवस्था मिलाइएको छ। शास्त्रीय मान्यता अनुसार साइतमा टीका लगाउँदा लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने नियम रहिआएको छ।
असत्यमाथि सत्यको विजय र दुर्जनमाथि सज्जनको जितको प्रतीकका रूपमा मनाइने यस पर्वमा नवदुर्गा भवानीको प्रसाद ग्रहण गर्दै परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भएर शुभकामना आदानप्रदान गरिरहेका छन्। रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नागरिकहरू आफ्ना थातथलो फर्केसँगै यस पर्वले पारिवारिक पुनर्मिलन र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गरेको छ। कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रका गाउँघर तथा सहरहरूमा पनि दशैंको उल्लास छाएको छ र विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको चहलपहल बढेको छ।





