धनगढी, कैलाली।
नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले यस वर्ष आफूले दशैँ नमनाएर कैलालीको धनगढी उपमहानगरपालिका–१, मोनिकापुरस्थित सुकुम्बासी बस्तीका एक अति विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ ।

आर्थिक अभावका कारण चाडपर्व मनाउन नसकेको पाँच सदस्यीय पीडित परिवारको दयनीय अवस्था देखेपछि संयोजक नागरीले वैदेशिक रोजगारीको सिलसिलामा हाल कुवेतमा रहनुभएका बिरु नेपाली र अजय जैरुको समेत सहकार्यमा उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । सहयोगस्वरूप पीडित परिवारलाई लत्ताकपडा, चामल, दाल, तेल, नुन, खुर्सानी, मसला, कुखुरा, फलफूल र नुहाउने साबुनलगायतका दैनिक उपभोग्य वस्तुका साथै ब्ल्याङ्केट, डस्ना, सिरानी र तन्ना जस्ता ओढ्ने ओछ्याउने सामग्री प्रदान गरिएको छ ।

चरम गरिबीका कारण बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ परिरहेको अवस्थामा दशैँको समयमा घरमै खाद्यान्न र न्यानो कपडा पाएपछि पीडित परिवारमा खुसी छाएको छ । राहत सामग्री बुझ्दै परिवारकी एक वृद्धाले भावुक हुँदै भन्नुभयो, “सबैको घरमा दशैँ आयो, तर हाम्रो घरमा कहिल्यै दशैँ चाड के हो भन्ने थाहा भएन ।”
ती वृद्धाको पीडा र परिवारको कष्टकर जीवनयापन देखेपछि मानवीय संवेदनाका आधारमा खाद्यान्न र लत्ताकपडाको जोहो गरिदिएको संयोजक नागरीले बताउनुभयो । राजनीतिक नेतृत्वमा रहनु भनेको पद र प्रतिष्ठा मात्र नभई नागरिकको दुःखमा साथ दिनु पनि हो भन्ने मान्यताका साथ आफू सामाजिक सेवामा जुटेको उहाँको भनाइ छ । चाडपर्वको वास्तविक खुसी अरूको अनुहारमा मुस्कान ल्याउनु र संकटमा परेका नागरिकलाई सघाउनुमा रहेको उहाँले उल्लेख गर्नुभयो ।
लामो समयदेखि सुदूरपश्चिमका गरिब, असहाय तथा विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा र औषधोपचारमा सहयोग पुर्याउँदै आउनुभएका नागरीले विभिन्न समयमा हजारौँ पीडितलाई आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभएको छ । चाडपर्वका बेला सुकुम्बासी बस्तीका असहाय नागरिकको घरदैलोमा पुगेर गरिएको यस प्रकारको मानवीय सहयोगले समाजमा सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावनालाई अझ बलियो बनाउने सन्देश दिएको छ ।





