कंचनपुर १ ‘ख’ मा कांग्रेसको सय दिने अभियान सुरु

केशव भट्ट, ०५ मंसिर, बेलौरी

नेपाली कांग्रेस कंचनपुर क्षेत्र नम्बर १ ‘ख’ ले सय दिने विशेष अभियान सुरु गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार बिहीबार कांग्रेस प्रदेश ‘ख’ समितिले अभियान सुरु गरेको हो।

अभियानका लागि क्षेत्रमा केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य नृप ओड आएका छन्। केन्द्रीय प्रतिनिधिका रूपमा आएका ओडको उपस्थितिमा बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसको सभाहलमा अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस कंचनपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का सचिव दिनेश कुँवरले जानकारी दिए।

कांग्रेस कंचनपुर क्षेत्र नम्बर १ का नेता तथा पार्टीका विभिन्न पदाधिकारीहरूको सहभागिता सहित अभियानको सुरुआत गरिएको छ। अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रूपमा पेश गरिने केन्द्रीय सदस्य ओडले जानकारी दिए।

जनताका गुनासो सँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रूपरेखा तयार गर्न सहज हुने उनको भनाइ छ। आन्तरिक समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सहज हुने केन्द्रीय सदस्य ओडले बताए।

नेताहरूले पार्टीभन्दा आफ्नो व्यक्तिगत स्वार्थका लागि बोल्ने गरेको पाइएको उनले बताए। खासगरी जनप्रतिनिधि साथीहरूले पार्टीप्रति बढी जिम्मेवार हुन आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ