कोहलपुर, मंसिर ६,
नेपाल ओलम्पिक कमिटी अध्यक्ष पदका लागि निलेन्द्र राज श्रेष्ठले आफ्नो उमेद्वारीको घोषणा गरेका छन् ।
बिहीबार श्रेष्ठले ओलम्पिक कमिटीको अध्यक्षको पदका लागि उमेद्वारी घोषणा गरेका हुन् । नेपाल ओलम्पिक कमिटीको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा अत्यन्तै गर्वित महसुस गरिरहेको श्रेष्ठले बताएका छन् । उमेद्वारी घोषणाका क्रममा श्रेष्ठले नेपालको खेलकुद क्षेत्रको समग्र विकास, खेलाडीहरूको हितमा काम गर्ने तथा अन्तराष्ट्रि स्तरमा नेपालको खेलकुदलाई थप उचाइमा पुर्याउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
उनले आफू विगतमा नेपाल ओलम्पिक कमिटीको महासचिवको रूपमा काम गरिसकेको जानकारी गराउँदैं खेलकुद क्षेत्रको प्रगति र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गरे । आफूले पाएको अनुभव र सिकेको शिक्षालाई अझ प्रभावकारी रूपमा उपयोग गर्दै आगामी दिनमा संस्थालाई थप सक्षम र पारदर्शी बनाउने श्रेष्ठको प्रतिबद्धता छ । खेलाडीको हकहित सुनिश्चित गर्न र खेलकुदमा उनीहरूको भविष्य निर्माणका लागि दीर्घकालीन योजनातर्जुमा गर्ने उनले दावी गरेका छन् ।
खेलाडीहरूलाई सशक्त बनाउँदै र पूर्वाधार निर्माण गर्दै खेलाडीहरूलाई स्रोत, मान्यता, र समर्थन प्रदान गर्दै सशक्त बनाउने लक्ष्य राखेको श्रेष्ठले बताए । खेलकुद पूर्वाधारलाई सुधार गर्ने, प्रशिक्षकहरूको स्तरवृद्धि गर्ने, र राष्ट्रिय महासंघहरूको प्रर्वद्धन गर्ने, देशभरका खेलकुद संरचना तथा सुविधा विकास गर्दै सबै क्षेत्रमा खेलकुदलाई पहुँचयोग्य बनाउने लक्ष्यका साथ उमेद्वारी दिएको उनको दावी छ । नेपाली ओलम्पिक कमिटीको अध्यक्ष पदका उम्मेदवारको रूपमा, पारदर्शिता, इमानदारी, र सबै खेलकुद संघ–संस्थाहरू बीच सहकार्यलाई प्रर्वद्धन गर्दै रूपान्तरणकारी परिवर्तनको लागि प्रतिबद्ध उल्लेख गरे ।
अन्तराष्ट्रिय स्तरमा नेपाली खेलाडीको सहभागिता र प्रभावकारी प्रतिनिधित्वलाई थप सुदृढ बनाउनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय दुवै तहका सरोकारवाला र साझेदारसँंग समन्वय र सहकार्य गर्ने जानकारी दिएका छन् । खेलकुद र खेलाडी दुबैको प्रस्तुति र सीप मजवुत बनाउन रणनैतिक हिसाबले विश्वव्यापी सञ्जालहरुसँंग समन्वय गर्दै नेपाली खेलाडीका लागि विश्व मञ्चहरु तयार गर्ने उल्लेख्य भुमिकामा आफूलाई देख्न सकिने जिकिर गरे ।
संगठित रूपमा प्रतिभा खोज्ने, तल्लो तहका कार्यक्रमहरूलाई मजबुत पार्ने, र ओलम्पिक तथा एसियाली खेलकुदहरुमा नेपालको उपस्थितिलाई उचाल्दै खेलकुद मार्फत राष्ट्रलाई एकताबद्ध गर्ने र भावी पुस्तालाई प्रेरणा दिनका लागि कटिवद्ध रहने बताउदै श्रेष्ठले यो अवसर आफ्ना लागि पनि असाध्यै महत्वपूर्ण र निर्णायक रहने बताएका छन् । जीवनभर आफूले नेपाल र विदेशमा रहेर पनि खेलकुद र खेलाडीको हितमा रहने गरी मात्र काम गरेको जानकारी दिए । यसैका आधारमा आफूले उमेद्वारीको घोषणा गरेको बताए ।
आफ्नो नेतृत्वमा, सबै मिलेर नेपाललाई खेलकुद क्षेत्रमा एक अग्रणी देशको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । यसमा सबैको साथ, समर्थन र सुझावले आफू सफल हुने बताउँदै उमेद्वारी घोषणासँगै सबै खेलकुद संघ, संगठन, खेलाडी, र सम्पूर्ण खेलकुद प्रेमीहरूसँग सहकार्य गर्ने तयार रहेको बताए ।





