लालझाडी, ०६ मंसिर
काठमाडौंको ताहाचलस्थित होटेल ह्यात प्लेस (Hyatt Place) मा स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेको अध्यक्षता तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) को शुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर समारोह सम्पन्न भएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीको सहभागिता रहेको थियो। त्रिपक्षीय समझदारीपत्रमा लालझाडी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर पश्चात समझदारीपत्रको एक प्रति गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकाको केन्द्र जोड्न वडा नं ६ चानदेवदेखि वडा नं २ कञ्जसम्मको १३.६ किलोमिटर सडक कालोपत्रे गरिनेछ, प्रमुख प्रशासकीय अधिकृत सार्कीले जानकारी दिनुभयो। आयोजनाका कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत भई ठेक्का आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको र पुस मसान्तसम्ममा सम्झौता भई कार्यान्वयनमा लैजाने तयारी भइरहेको जनाइएको छ।
विश्व बैंक (World Bank) को सहयोगमा नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको काम शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच विश्व बैंकको १०० मिलियन र नेपाल सरकारको २८ मिलियन गरी कुल १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड नेपाली रुपैयाँ) बराबरको बजेटमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) को पहिलो चरण सुरु गरिएको हो।
कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभाग, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय, र सुदूरपश्चिम, कर्णाली एवं मधेश प्रदेशका स्थानीय तहहरूबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसमा कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका पनि समावेश छ।





