मीरा श्रेष्ठ, मंसीर ८
धनगढी- अन्तरास्ट्र्यि लैङ्गिक महिला हिंसा विरुद्धको दिवस नजिकिदै गर्दा धनगढी उप-महानगरपालिकाले प्रत्येक शनिबार आयोजना गर्ने गरी शनिबारीय महिला उद्यम आयोजनाको अवधारणा अघि सारेको छ । गत शनिबारदेखि सुरु भएको यस कार्यक्रमको उद्धेश्य महिला दिदिबहिनीको सशक्तिकरणको लागि उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु रहेको मेयर गोपी हमालले बताएका छन् । शनिबारीय बजार दिउँसो १ बजेदेखि धनगढीको ऐश्वर्य पार्कनेर सुरु हुनेछ । ईच्छुकहरुले निःशुल्क स्टल समेत राख्न पाउने व्यवस्था गरिएको छ ।

महिला दिदिबहिनीद्धारा उत्पादन हुने वस्तु तथा सेवाको उपभोग गरी दिदिबहिनीको आर्थिकोपार्जनमा सहयोग गर्न साथै गृहिणी दिदिबहिनी तथा शनिबारीय बिदामा रहेका विद्यार्थीवर्ग तथा अन्य व्यक्तिले समेत बजारको अवलोकन गर्न मेयर हमालले अनुरोध गरेका छन् । बिक्री वितरणका अतिरिक्त मनोरञ्जनको पाटोलाई पनि ध्यानमा राख्दै आकर्षक स्टेज निर्माण गरिएको र साउण्ड सिस्टमको पनि उचित व्यवस्थापन गरिएकाले स्थानीय कलाकार तथा जोकोहिले पनि स्व–ईक्षाले मञ्चमा गई आफ्ना कला प्रदर्शन गर्न सक्ने हमालले थप जानकारी दिएका छन् ।

सुदूरपश्चिममै असल र नौला अभ्यास ल्याउने असल नेतृत्वकर्ताको रुपमा हमाल चिनिदै आएका छन् ।





