कांग्रेस केन्द्रीय सदस्यमा दिवान सिंह विष्ट निर्वाचित, स्थानीय कार्यकर्ता उत्साहित

बेलौरी, कञ्चनपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश भूगोलतर्फबाट कञ्चनपुरका नेता एवं प्रदेशसभा सदस्य दिवान सिंह विष्ट पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएपछि स्थानीय नेता तथा कार्यकर्ताहरूमा उत्साह छाएको छ ।

मङ्गलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रदेशसभा सदस्य विष्ट १ हजार ७९९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो । कञ्चनपुरको दक्षिणी क्षेत्रको राजनीति र सामाजिक अभियानमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका विष्टले महाधिवेशन प्रतिनिधिहरूको विश्वास जित्दै पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो स्थान सुरक्षित गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश भूगोलतर्फको सोही समूहबाट विष्टसँगै कञ्चनपुरकै अर्का नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री बहादुर सिंह थापा र डडेलधुराका जनक चटौतसमेत केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका अनुसार थापाले पनि विष्टसरह समान १ हजार ७९९ मत पाउनुभएको छ भने चटौतले २ हजार ५३२ मत प्राप्त गर्नुभएको छ ।

आफ्नो क्षेत्रका जनप्रतिनिधि पार्टीको केन्द्रीय तहमा पुगेको खबर सार्वजनिक भएसँगै बेलौरीलगायत कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूले खुसी व्यक्त गरेका छन् । स्थानीय स्तरमा विकास निर्माण, सीमा क्षेत्रका समस्या र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका कारण विष्टको जितले आम कार्यकर्तामा सकारात्मक सन्देह प्रवाह गरेको स्थानीय नेताहरूको भनाइ छ ।

कञ्चनपुरबाटै दुई जना अनुभवी नेताहरू एकसाथ पार्टीको केन्द्रीय नीति निर्माण तहमा पुग्नुले जिल्लाको राजनीतिक साख थप बलियो भएको स्थानीयको बुझाइ छ । प्रदेशसभा सदस्यका रूपमा सुदूरपश्चिमको विकास र समृद्धिका लागि भूमिका खेल्दै आउनुभएका विष्ट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै अब राष्ट्रिय राजनीतिमा समेत सुदूरपश्चिम र विशेषगरी कञ्चनपुरका विकासका मुद्दाहरू थप सशक्त ढङ्गले उठान हुने अपेक्षा गरिएको छ ।

सच्याइएको: दिवान सिंह विष्टले प्राप्त गर्नुभएको मत संख्या १,८०९ हुनुपर्नेमा प्राविधिक कारणवश अन्यथा हुन गएकोले सच्याइएको छ। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ