बदलिँदो अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा बदलिँदो अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई थप सुदृढ र साधनस्रोत सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा धनगढीमा आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उक्त धारणा राख्नुभएको हो । विपद्का समयमा खोज तथा उद्धारदेखि समाजमा अमनचयन कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो ।

पछिल्लो समय साइबर अपराधलगायत समाजमा विभिन्न खालका आपराधिक गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्ता अपराध न्यूनीकरणका लागि प्रहरी सङ्गठनलाई थप सक्षम र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । समयको परिवर्तनसँगै अपराधका स्वरूपमा समेत बदलाब आइरहेकाले त्यसको सफल नियन्त्रणका लागि प्रहरीको क्षमता अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासनको प्रत्याभूति दिलाउन प्रहरीले खेलेको भूमिका अनुकरणीय रहेको मुख्यमन्त्री भट्टले उल्लेख गर्नुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा सुरक्षा निकायलाई थप व्यवस्थित र बलियो बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश सरकार सदैव तत्पर रहेको प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

आगामी दिनमा नागरिकको सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल प्रहरीको भूमिका अझै प्रभावकारी र जनउत्तरदायी हुने विश्वास प्रदेश सरकारले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ