सरकारद्वारा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण

बेलौरी, कञ्चनपुर ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावअनुसार गहुँको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। सरकारले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ लाई आधार मानेर किसानको उत्पादन लागत र मुनाफा सुनिश्चित हुने गरी यो मूल्य कायम गरेको जनाएको छ।

गत आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा यस वर्ष सरकारले प्रतिक्विन्टल १६२ रुपैयाँले मूल्य वृद्धि गरेको हो। गहुँ बाली छर्ने मुख्य समय सुरु भएसँगै सरकारले समर्थन मूल्य तोकेपछि कञ्चनपुर, कैलालीलगायत सुदूरपश्चिमका तराईका जिल्लाका किसानहरू उत्साहित भएका छन्।

विगतका वर्षहरूमा किसानले गहुँ भित्र्याएर व्यापारीलाई सस्तो मूल्यमा बिक्री गरिसकेपछि मात्र सरकारले ढिलो गरी समर्थन मूल्य तोक्ने गरेको गुनासो रहँदै आएको थियो। यस पटक भने गहुँ छर्ने याममै मूल्य निर्धारण हुँदा खेतीको तयारीमा जुटेका बेलौरी र आसपासका स्थानीय किसानहरूले सरकारको निर्णयको स्वागत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ