केशब भट्ट, १३ मंसिर, बेलौरी।
कञ्चनपुरको बेलौरीमा कवर्डहल निर्माणका लागि बिहीबार प्राविधिक टोलीले बेलौरीको खुलामञ्चमा स्थल अवलोकन गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कवर्डहल निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले पहिलो पटक बेलौरी बजारमा कवर्डहल निर्माणका लागि बजेट व्यवस्थापन गरेका हुन्।

स्थल अवलोकनका क्रममा प्रदेशसभा सदस्य बिष्टसहित बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी,वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकाल, नगरपालिकाको प्राविधिक टोली, सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशी, बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठ र कराँतेका नगर समिति अध्यक्ष राम खड्का समेतको उपस्थिति रहेको थियो।
कवर्डहल निर्माणका लागि सुरु गरिएको यो पहलले स्थानीय बासिन्दामा खुसीको लहर छाएको छ। स्थानीयहरूले यसलाई बजारको समग्र विकासका लागि महत्त्वपूर्ण पहलका रूपमा लिएका छन्।





