बेलौरीमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

बेलौरी । मंसिर १४।

कञ्चनपुरमा श्रीमानको हत्या गरेको आरोपमा महिलालाई पक्राउ गरिएको छ । बेलौरी नगरपालिका–६ भुराकोट बस्ने ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती जनक कुमारी रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बिहीबार आफ्नै घरमा हत्या गरेको अवस्थामा भेटिएका रानाको हत्या उनकै श्रीमतीले गरेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए ।उनका अनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो तर मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा फेला परेको थियो ।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो।

खाटमुनी रगत लागेको ईटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईटा प्रहार गरि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

रानाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ