बेलौरीमा हुलाकी सडक पुनः अवरुद्ध: ९ वर्षदेखिको समस्यामा स्थानीयको कडा आक्रोश

कञ्चन आवाज , १८ मङ्सीर। निर्माणको नाममा दशक लामो अलमलले जनजीवन अत्यन्त कष्टकर बनेपछि स्थानीयहरुले आफ्नो आक्रोश फेरि एकपटक सडक अवरोधमार्फत व्यक्त गरेका छन्। वर्खामा हिलो र गर्मीमा धुलोले यातायात र आवागमनलाई थप कष्टप्रद बनाउँदै गर्दा, तौलाराना चोकमा आज स्थानीयको आक्रोशले सडक पूर्णतया अवरुद्ध भएको छ।

यो सडक समस्याले केवल जनताको दैनन्दिन जीवनलाई मात्र होइन, स्वास्थ्य, आर्थिक गतिविधि, र सामाजिक सद्भावलाई समेत गम्भीर प्रभाव पारेको छ। पटक–पटकका आश्वासन र सुस्त प्रशासनिक प्रक्रियाले जनता थकित मात्र नभई आक्रोशित भएका छन्। स्थानीयले अब झारा टार्ने काम बन्द गरी स्थायी समाधान खोज्न सम्बन्धित निकायलाई दबाब दिन यस्तो कदम उठाएको जनाएका छन्।

स्थानीयको भनाइ

वात्सल्य विधा निकेतनका प्रधानाध्यापक तथा स्थानीय लक्ष्मण दियालले भने, “यो बाटो नौ वर्षदेखि अलपत्र छ। अहिले पहिला भन्दा झन बिगारिएको छ। नगरपालिकाले केही पहलकदमी गरे जस्तो गर्छ, तर केही गर्दैन। सडक नबन्दा दुर्घटना भएको छ र फेरि दुर्घटना भएमा यसको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ। अब झारा टार्ने काम गर्नुहुन्न।” उनले थपे, “नेता भएर पदीय दायित्व निर्वाह नगर्ने हो भने उनीहरुको पदको औचित्य नै समाप्त हुन्छ। अनैतिक राजनीति बन्द गर्नुपर्छ।”

स्थानिय पुनम श्रेष्ठले सरकारको आलोचना गर्दै भनिन्, “यो खराब सडकले बिरामी र दुर्घटनाको घटनाहरु बढिरहेका छन्। सरकारलाई कुर्चि मात्र चाहिएको छ, जनता चाहिएको छैन भन्ने हो? नगरप्रमुखले आफ्नो पदीय दायित्व निर्वाह गर्नुपर्छ।”

पूर्व मुख्यमन्त्रीको चासो

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल उक्त बाटो हिँड्ने क्रममा स्थानीयको अवरोधलाई बुझ्ने प्रयास गरेका थिए। उनले तत्कालै नगर प्रमुखलाई फोन गर्दा फोन उठेन। त्यसपछि उनले प्रदेशका माननीय र नगर उपप्रमुखलाई फोन गरेर समस्याबारे जानकारी गराए। साथै, उनले “ढल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीलाई कडा शब्दमा तीन दिनभित्र काम सुरु गर्न” निर्देशन दिएका थिए।

नगरपालिकाको प्रतिक्रिया

यस विषयमा स्थानीय सरकारलाई बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन। यसअघि नगरपालिकाका वडा नं. ६ का अध्यक्ष भोजराज चौधरीले ठेकेदारसँग सम्पर्क गरेको र काम चाँडै सुरु हुने आश्वासन दिएको बताएका थिए।

स्थानीयहरुले चेतावनी सहित भनेका छन्, “यदि यस पटक पनि काम सुरु नभए, आन्दोलन सशक्त चरणमा प्रवेश गर्नेछ। यो स्थिति सहन सकिँदैन।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ