बेलौरीमा हुलाकी सडक विवाद समाधानमा सहमति: निर्माण कार्य मंसिर २७ देखि सुरु हुने

कञ्चन आवाज, बेलौरी, २०८१ मंसिर १९। वर्षौंदेखि विवाद र ढिलासुस्तीको चपेटामा परेको हुलाकी सडक अन्तर्गत पर्ने लक्ष्मी स्वीट्स देखी कृष्ण मन्दिर रिछाहा सम्मको सडक खण्डको अन्ततः निर्माण कार्य सुरु गर्ने सहमति भएको छ। स्थानीय, निर्माण व्यवसायी, सरोकारवालाहरु र जनप्रतिनिधीबीचको परामर्श बैठकपछि २०८१ मंसिर २७ गतेदेखि सडक निर्माण कार्य प्रारम्भ हुने निर्णय गरिएको छ।

तौलाराना चोकमा भएको आन्दोलनपछि बेलौरी नगरपालिकामा आयोजित परामर्श बैठकमा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, वडा नं. ४ का अध्यक्ष अर्जुन ढकाल, नेकपा एमालेकी केन्द्रीय सदस्य कमला बोहरा, संघीय खानेपानी तथा ढल निकास कार्यालयका प्रतिनिधि, निर्माण व्यवसायीहरूसहित स्थानीय जनसमुदायले आ-आफ्नो धारणा राखेका थिए।बैठकमा सहभागी सबैले नौ वर्षदेखि अलपत्र रहेको सडकलाई समयमै निर्माण सम्पन्न गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरे।

निर्माण कार्य फागुन मसान्तसम्म पूरा हुने

निर्माण व्यवसायीले २०८१ मंसिर २७ गतेदेखि कालोपत्रे बाहेक सम्पूर्ण निर्माण कार्य सुरु गर्ने र फागुन मसान्तसम्म सम्पूर्ण कालोपत्रे कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।नगर प्रमुख पोतिलाल चौधरीले निर्माण अवधिभर नगरपालिकाले सडकमा धुलो व्यवस्थापन गर्न पानी हाल्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। यसले निर्माणको अवधिमा स्थानीय जनजीवनलाई सहज बनाउने विश्वास गरिएको छ।

पूर्व मुख्यमन्त्रीको चासो र आभार

पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बैठकमा सरोकारवालाहरूलाई निर्माण कार्य समयमा सम्पन्न गर्न विशेष जिम्मेवारी लिने अनुरोध गर्दै स्थानीय जनताको सचेत भूमिका र सहमतिका लागि देखाएको एकताप्रति आभार प्रकट गरे। उनले भने, “यसरी नै सचेत र जिम्मेवार भएर समस्या समाधानमा योगदान गर्नु भएकोमा म सबै स्थानीयप्रति आभार व्यक्त गर्दछु। विभिन्न राजनीतिक दलका नेताहरू, सरोकारवाला, र स्थानीय जनताको सामूहिक प्रयासले मात्र यो सम्भव भएको हो।”

 

स्थानीयको प्रतिक्रियाहरू

बैठकपछि स्थानीय पुनम श्रेष्ठले भनिन्,”यो सहमति स्वागतयोग्य छ। तर, यो कागजमा मात्र सीमित हुनु हुँदैन। समयमै काम पूरा नभए हामी फेरि सडकमा उत्रनेछौं।”

अर्का स्थानीय ललित प्रसाद भट्टले सडक निर्माणमा निरन्तर ढिलासुस्ती भएकोप्रति आक्रोश व्यक्त गर्दै भने, “स्थानीयको दबाबले आजको सहमति सम्भव भएको हो। अब काम समयमा सम्पन्न हुनुपर्छ। हामी थप ढिलाइ सहन सक्दैनौं।”

निर्माण व्यवसायीको धारणा

निर्माण व्यवसायी हरिहर पन्तले  समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “निर्माण कार्यको सम्पूर्ण प्रक्रिया निर्धारित समयमै सम्पन्न हुनेछ। हामी स्थानीय र सरोकारवालासँग निरन्तर समन्वय गर्दै अघि बढ्नेछौं।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ