केशब भट्ट, २० मंसिर, बेलौरी। वैदेशिक रोजगारीका लागि गएका दुई जना बेलौरीबासी संयुक्त अरब इमिरेट्स (यूएई)मा जेल जीवन बिताइरहेका छन्।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने रन्जन चौधरी र गङ्गाराम चौधरीलाई यूएई प्रहरीले एक महिना अघि पक्राउ गरी लगेको थियो।

उनीहरूलाई पक्राउ गरिएको बारेमा घरपरिवार अझै अनभिज्ञ छन्। गत मार्चमा यूएई गएका उनीहरू करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि घरपरिवारले खोजी गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेको सामान्य जानकारी मात्र घरपरिवारले पाएका छन्।पक्राउ परेका चौधरी द्वयको अवस्था पत्ता लगाई उद्धारका लागि नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपि प्रसाद उपाध्यायले पहल थालेका छन्।
बिहीवार सभापति उपाध्यायले उनीहरूको अवस्थाको जानकारीका साथै उद्धारका लागि सम्बन्धित निकायका कार्यालयमा भेटवार्ता गरेका थिए।यसअघि, नेता उपाध्यायले मलेसियामा अलपत्र परेका बेलौरी २ का जनक चौधरी र चन्कुराम चौधरीलाई सम्झौता अनुसारको काममा न्यूनतम पारिश्रमिक दिलाई काममा फर्काउन सफल भएका थिए।





