बेलौरी, कञ्चनपुर। २३ मंसिर। कञ्चनपुरको बेलौरीमा २४ वर्षपछि पुनः आयोजित रामलीला कार्यक्रममा भगवान रामको भूमिका निर्वाह गरेका दिपेन्द्र सिंह विष्टले आफ्नो पारिश्रमिकको ५० प्रतिशत रामलीला समितिलाई दान गरेका छन् भने, सोही पारिश्रमिकबाट रु. १०,००० श्री कालिका मन्दिरलाई सहयोगार्थ प्रदान गरेका छन्।

दिपेन्द्र सिंह विष्ट, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत छन्। उनले भने, “मेरो उद्देश्य व्यक्तिगत योगदानसम्म सीमित छैन; म अन्यलाई पनि दान गर्न प्रेरित गर्न चाहन्छु। दानले समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउँछ।”

कालिका मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाश राज पन्तका अनुसार, विष्टद्वारा गरिएको यो दानले मन्दिरको व्यवस्थापन र विकासमा सहयोग पुर्याउनेछ। कार्यक्रममा समितिका कोषाध्यक्ष अमित भट्टराई, समाजसेवी ज्ञानेन्द्र गौतम, शिक्षक सुरेन्द्र बोहरा लगायतको उपस्थिति थियो।






