मिरा श्रेष्ठ , बेलौरी, पौष ४। बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ८ देखि पुस १७ सम्म बेलौरीको खुल्ला मञ्चमा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला २०८१ आयोजना हुने भएको छ। महोत्सवले कृषि, उद्योग, पर्यटन, र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
महोत्सवमा ९० वटा स्टल राखिनेछन्, जसमा ६ कृषि प्रदर्शनी स्टल, ४ सांस्कृतिक पोशाक तथा गरगहना स्टल, र अन्य स्थानिय उत्पादन तथा आधुनिक प्रविधिका सामग्री प्रदर्शित गरिनेछन्। महोत्सव अवधिभर ४०,००० भन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ। स्थानिय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण हुनेछ। कलाकार व्यवस्थापन र भुक्तानीको जिम्मा टेन्ट हाउसलाई दिइएको छ।
पत्रकार सम्मेलनमा ठेक्का विवादबारे उठेका प्रश्नमा अध्यक्ष हिरा सिंह विष्टले स्पष्ट पार्दै भने, “टेन्ट व्यवस्थापन र टिकट व्यवस्थापन बाहेक अन्य सबै पक्ष संघकै प्रत्यक्ष नियन्त्रणमा छन्।” उनले महोत्सवको सबै प्रक्रिया पारदर्शी र सरोकारवालाको निगरानीमा हुने विश्वास दिलाए।

प्रत्येक दिन तीनवटा विद्यालयले सांस्कृतिक प्रस्तुति दिने व्यवस्था गरिएको छ। यसका लागि विद्यालयस्तरीय समिति गठन गरी विद्यार्थीहरूलाई कला र संस्कृतिमा सहभागी गराइएको छ। महोत्सवमा प्रवेश शुल्क सामान्य नागरिकका लागि रु १००, विद्यार्थीका लागि रु ५०, र ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क व्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष लक्ष्मी नारायण चौधरीले यसअघि सम्पूर्ण जनताको साथले महोत्सव सफल भएको स्मरण गर्दै, यस पटक पनि सबै सरोकारवालाको सहयोग र सहभागिताले महोत्सवलाई भव्य बनाउने विश्वास व्यक्त गरे। पूर्व अध्यक्ष टेक ब. साउदले दशैं–तिहारकै समयमा महोत्सव आयोजना गर्ने योजना भए पनि परिस्थितिका कारण हाल गर्नुपरेको जानकारी दिए। उनले आगामी दिनमा नियमित क्यालेन्डर बनाएर महोत्सवलाई समयमै आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
संघका अध्यक्ष हिरा सिंह विष्टले महोत्सवका सबै पक्ष व्यवस्थित र पारदर्शी रहेको जानकारी दिँदै स्थानिय कलाकार र संस्कृतिलाई प्राथमिकता दिइएको स्पष्ट पारे। संघका उद्योग उपाध्यक्ष विजया लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष महेन्द्र सिंह बुडाल, वाणिज्य उपाध्यक्ष हरि खरेल, सदस्य भवेश्वर पाण्डे, यम बहादुर खत्री, र पूर्व अध्यक्ष लक्ष्मी नारायण चौधरी तथा टेक ब. साउदको विशेष उपस्थिति रहेको यस कार्यक्रमको सहजिरकण महासचिव गोविन्द प्रसाद सापकोटाले गरेका थिए।






