धनगढी। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै भने, अब पार्टीभित्र अन्याय हुने छैन। न्याय हुनेछ। त्यसको जिम्मा आफूले लिने बताएका छन्। सुदूरपश्चिमको तीन दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, “म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको छु।”
“बिगतमा तपाईहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनुभएको छैन। तपाईहरूको पीडा म बुझ्छु। अब १५ औं महाधिवेशनपछि न्याय हुनेछ। म कसैलाई पक्षपात गर्दिन। तर यसका लागि तपाईहरूको सहयोग चाहिन्छ,” कोइरालाले भने।
कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै भने, “महाधिवेशन समयमै हुनुपर्छ। समयमा भएन भने पार्टी कमजोर हुन्छ। अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ। देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ।”
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको कोइरालाले दाबी गरे। उनले भने, “यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ।” तर सरकारको कार्यशैली भने सन्तोषजनक नभएको बताए। उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट नरहेको पनि बताए।
सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए। कञ्चनपुरबाट सुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो। कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए। जिल्लागत रूपमा जिल्लाका समस्याहरूको बारेमा नौ वटै जिल्लालाई सम्बोधन गरेका थिए।





