कञ्चनपुर, पुस ०९ – भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध नेकपा माओवादी केन्द्रले पुस १३ गते शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिकाको टाउन बजार खुला मञ्चमा बृहत खबरदारी सभाको आयोजना गर्ने भएको छ। सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला समन्वय समितिका सचिव सहवीर सुनारको अध्यक्षतामा बसेको बैठकले खबरदारी सभालाई सभ्य र भव्य बनाउन कार्य विभाजनसहित जिम्मेवारी तोकेको छ। बैठकमा केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराज मणि पोखरेल, केन्द्रीय सदस्य टेकेन्द्र प्रसाद भट्ट ‘विक्रम’ लगायत प्रदेश, जिल्ला सहित अगुवा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। पार्टीले सभालाई “भ्रष्टाचारमुक्त नेपाल – हाम्रो संकल्प” नारासहित आयोजना गर्न लागेको हो। यस सभाले भ्रष्टाचार, कुशासन र बेथितिका कारणले जनताले भोग्नुपरेका समस्याहरू उजागर गर्दै सुशासन र पारदर्शिताको सन्देश प्रवाहित गर्ने उद्देश्य लिएको छ।

पार्टीका नेताहरूले यस अभियानलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख राजनीतिक गतिविधिका रूपमा लिएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिकाको टाउन बजार खुला मञ्चमा आयोजना गरिने यो सभा प्रदेशका जनताको ठूलो सहभागितामा सम्पन्न हुने अपेक्षा गरिएको छ। माओवादी केन्द्रका प्रदेश र स्थानीय कार्यकर्ताहरूले सभाको तयारीलाई तीव्र बनाएका छन्। पार्टीले सबै जनवर्गीय संगठनहरूलाई आफ्नो भूमिका निभाउन आह्वान गर्दै आम नागरिकलाई खबरदारी सभामा उपस्थित हुन अनुरोध गरेको छ।





