महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा श्रीयस तरुण सार्थक गारमेन्ट उद्योग सञ्चालनमा आएको छ। शुक्रबार एक कार्यक्रमका बीच उद्योगको उद्घाटन गरिएको छ। नेपाली सेनामा समेत कार्यरत युवा उद्यमी भरत जोशीले गारमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन्। उद्योगको उद्घाटन वडा अध्यक्ष प्रकाश बहादुर चन्दले गरे।
करिब ३० लाख बढी लगानीमा स्थापना गरिएको उद्योगमा १० जना बढीलाई प्रत्यक्ष रोजगारी दिइने सञ्चालक जोशीले बताए। उनका अनुसार, देशमै रोजगारीका अवसर सिर्जना गर्नका लागि गारमेन्ट उद्योग सञ्चालनमा ल्याइएको हो।
उद्योगमा विद्यार्थी तथा खेलाडीका ड्रेस, अफिस युनिफर्म लगायत सबै किसिमका तयारी लुगा र कपडा तयार गरिने जोशीको भनाइ छ। साथै, उनले युवा व्यवसाय प्रवर्द्धनका लागि सबैको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।

उद्योगको उद्घाटन गर्दै वडा अध्यक्ष चन्दले उद्योग स्थापनाले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने बताए। उनले औद्योगिक क्षेत्रको विकासका लागि वडाले आवश्यक जनशक्ति उत्पादन गर्न सिपमूलक तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। साथै, उनले युवाहरूलाई स्वउद्यमतर्फ प्रेरणा प्रदान गर्न यो उद्योग सहायक हुने पनि बताए।





