केशब भट्ट, पौष २०, कैलाली। नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कमल बहादुर शाह र सुदूरपश्चिम मामिला तथा विधायन समिति सभापति दिवान सिंह बिष्टलाई सम्मान गरेको छ।शनिबार कैलालीको धनगढीमा युनियनले कार्यक्रम आयोजना गर्दै करिब ७ वर्षदेखि रोकिएको कानुन निर्माणमा मुख्यमन्त्री शाह र सभापति बिष्टको उत्कृष्ट कार्य र योगदानका लागि सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको हो।
कार्यक्रममा सभापति बिष्टले कर्मचारीहरूको मूल्य र योगदानलाई उच्च मापदण्डमा राख्दै प्रदेशको नीति निर्माण र कार्यान्वयनमा कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। कानुन निर्माणका क्रममा उनले सुदूरपश्चिमका नौ वटै जिल्लाका स्थानीय तहबाट सुझाव संकलन गरिएको जानकारी गराए।

त्यस्तै, मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकास र सुधारका लागि कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै, कर्मचारीहरूको प्रगति र समृद्धिका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्म बहादुर देउवाले कर्मचारीको हकहितका लागि सरकारले छिट्टै कानुन निर्माण गरेकोमा धन्यवाद व्यक्त गरे। कार्यक्रममा युनियनका विभिन्न पदाधिकारी, सदस्य र अन्य सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो।





