बेलौरी माघ म्याला २०८१ः भव्य तयारीमा जुट्यो बेलौरी नगर भलमन्सा समिति

बेलौरी, माघ २०८१। बेलौरी नगर भलमन्सा समितिको आयोजनामा बेलौरी माघ म्याला २०८१ आगामी पुस २६ देखि २८ गतेसम्म भव्य रूपमा सञ्चालन गर्न तयारी तीव्र रूपमा अगाडि बढाइएको छ। आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले मेलाका उद्देश्य, कार्यक्रम, र व्यवस्थापनका विषयमा जानकारी गराउँदै यस वर्षको म्यालालाई अझ विशेष र प्रभावकारी बनाइने बताएको छ।

मेलाको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएका छन्। सचिवालयको जिम्मा लाल बहादुर चौधरीलाई दिइएको छ। आर्थिक व्यवस्थापन उपसमितिका संयोजक गुरु प्रसाद चौधरी, मंच व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मण चौधरी, सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक बजारे चौधरी, स्वागत तथा सम्मान व्यवस्थापन उपसमितिका संयोजक रत्ना चौधरी, सांस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमितिका संयोजक विक्रम चौधरी, कलाकार व्यवस्थापन उपसमितिका संयोजक कृष्ण चौधरी, प्रचारप्रसार तथा स्वास्थ्य व्यवस्थापन उपसमितिका संयोजक कृष्ण गम्वा, र मेश संचालन उपसमितिका संयोजक सन्तराम चौधरी रहेका छन्।

मुल समिति संयोजकको जिम्मेवारी बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले निर्वाह गर्नेछन्। आयोजक समितिका अनुसार, म्यालाको मुख्य उद्देश्य “राष्ट्रिय एकता वा विविधता हमार शान, थारु भाषा, संस्कृति बचैना हमार अभियान” भन्ने नारालाई मूर्त रूप दिनु हो।

मेलामा प्रवेश शुल्क निःशुल्क हुनेछ। मेलाको मुख्य आकर्षण थारु समुदायको परम्परागत कला, संस्कृति, र परिकार हुनेछ। घोँगी, ढिक्री, मछ्छी, बंगुरको सेकुवा जस्ता परिकारका स्टलहरूले आगन्तुकहरूलाई सांस्कृतिक र पाककला अनुभव प्रदान गर्नेछन्।थारु समुदायको परम्परागत कला झल्काउने मघौटा नाच, मुङ्गह्रवा नाच, झुम्रा नाच, तथा अन्य सांस्कृतिक प्रस्तुति मेलाको मुख्य आकर्षणका रूपमा रहनेछन्। मेलामा थारु समुदायको परम्परागत रहनसहन र भेषभूषा झल्किने ३० ओटा सांस्कृतिक स्टलहरू राखिनेछन्।

मेलाको व्यवस्थापनमा झण्डै १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जसमध्ये ६ लाख ४० हजार रुपैयाँ प्रवर्द्धक बेलौरी नगरपालिकाले उपलब्ध गराउनेछ। आयोजकका अनुसार, करिब ५० हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।

कार्यक्रम संयोजकका अनुसार, बेलौरी माघ म्याला २०८१ ले थारु समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्दै स्थानीय कला, संस्कृति, र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिनेछ। आयोजक समितिले सम्पूर्ण स्थानीय बासिन्दा तथा बाह्य आगन्तुकहरूलाई म्यालामा सहभागी भई यसलाई सफल बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ