सुदूरपश्चिममा स्थानीय सेवाको गठन र संचालन सम्बन्धी विधेयकमा छलफल सम्पन्न

केशब भट्ट, २१ पौष, कंचनपुर।  स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक” माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आइतबार कंचनपुरको बेलौरी नगरपालिकामा सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिले प्रदेशका नौ वटै जिल्लाका स्थानीय तहका प्रमुखहरूसँग विधेयकबारे छलफल तथा अन्तरक्रिया गरेको हो।

कार्यक्रममा विधेयकका विविध पक्षहरूमाथि गहन छलफल गरिएको थियो। सहभागी पालिका प्रमुखहरूले स्थानीय सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विधेयकमा समेटिएका प्रावधानहरू, सम्भावित चुनौतीहरू र सुधारका उपायहरूबारे आफ्ना सुझाव प्रस्तुत गरे।

त्यस्तै, समितिका सभापति दिवान सिंह बिष्टले स्थानीय सेवाको व्यवस्थापन सुदृढ गर्न यस प्रकारका छलफल आवश्यक रहेको बताए। उनले विधेयकलाई सर्वपक्षीय सहमतिमा अघि बढाउन सुझावहरू समेटी माघ १५ गतेभित्र स्थानीय सेवा ऐन प्रदेश सभामा पेश गर्ने योजना रहेको जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भीम बहादुर भण्डारी, प्रदेश मामिला तथा विधायन समितिका सदस्यहरू, कर्मचारी र स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित सबै सहभागीलाई बेलौरी नगरपालिका कार्यालयले मायाको चिनो प्रदान गरेको थियो।

बेलौरी नगरप्रमुख पोतिलाल चौधरीले स्थानीय तहका लागि महत्वपूर्ण विधेयकबारे छलफल तथा अन्तरक्रिया बेलौरीमा सम्पन्न भएकोप्रति खुसी व्यक्त गर्दै आयोजक विधायन समितिप्रति धन्यवाद प्रकट गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ