बेलडाँडी, २४ पुस। बेलडाँडीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज बुधबारदेखि सुरु भएको छ। विद्यालयहरूबाट छानिएका विद्यार्थीहरूले भाग लिइरहेको यो प्रतियोगिता रौलेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य समारोहका बीच उद्घाटन गरिएको हो।
कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य तथा विद्यायन समिति संयोजक दिवान सिंह बिष्टले गर्नुभयो। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगितामा बेलडाँडीका ६ सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालयको सहभागिता रहेको छ।

पहिलो दिनको मार्चपासमा सरस्वती माध्यमिक विद्यालय झनासागर पहिलो, कञ्चन ग्यालेक्सी पब्लिक स्कूल दोस्रो र रौलेश्वर माध्यमिक विद्यालय तेस्रो भएका छन्।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, लङ जम्प, हाइजम्पजस्ता विभिन्न खेलहरू समावेश गरिएका छन्। प्रत्येक विद्यालयबाट छानिएका उत्कृष्ट विद्यार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
बेलडाँडी खेलकुद समितिको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो। बेलडाँडी खेलकुद समितिका अध्यक्ष डम्बर सुनारका अनुसार, प्रतियोगिताले खेलकुदमा विद्यार्थीहरूको रुचि बढाउनुका साथै नेतृत्वदायी क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। खेललाई सफल बनाउन सबै पक्षको साथ र सहयोग रहेको सुनारले बताए।
कार्यक्रमका प्रमुख अतिथि दिवान सिंह बिष्टले खेलकुदले कञ्चनपुरलाई अहिले विश्वमा चिनाएको भन्दै, “तपाईंहरूले पनि यसरी नै बेलडाँडीलाई खेलकुदको नामले चिनाउनु हुनेछ भन्ने आशा छ,” भन्नुभयो। उहाँले बेलडाँडीका राजनीतिक दललाई खेल मैदानका लागि पहल गर्न आग्रह गर्दै प्रदेशबाट बजेट विनियोजन गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो। “अर्को राष्ट्रपति रनिङ सिल्ड आफ्नै खेलमैदानमा भएको देख्न चाहन्छु,” बिष्टले थप्नुभयो।
बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले राष्ट्रपति रनिङ सिल्डजस्ता प्रतियोगिताले विद्यार्थीहरूको समग्र विकासका लागि महत्वपूर्ण प्लेटफर्म उपलब्ध गराएको बताउँदै, “बेलडाँडीले पछिल्लो समय खेलकुदमा उल्लेखनीय प्रगति गरेको छ,” भन्नुभयो। साथै, खेलमैदान निर्माणका लागि सबै पक्षबाट सहयोग भइरहेको उल्लेख गर्दै पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने र खेलकुदको विकासका लागि आवश्यक स्रोतसाधन व्यवस्थापन गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बेलडाँडी शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न प्रोत्साहन गर्नुका साथै शिक्षक, अभिभावक, खेलकुद समिति र आयोजकहरूलाई सफल कार्यक्रमका लागि धन्यवाद व्यक्त गर्नुभयो।
तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरको प्रतियोगिताका लागि छनोट गरिनेछ। समापन समारोहमा विजेता खेलाडीहरूलाई ट्रफी, पदक, तथा प्रमाणपत्र प्रदान गरिनेछ।






