पौष २५, बेलौरी। कञ्चनपुरमा बेलौरी नगरपालिकाको वडा नं २ कार्यालयले कंचनपुर जिल्लाको दक्षिणी क्षेत्रका नव निर्वाचित पत्रकारहरूलाई खादा र सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको छ। बिहिबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश परिषद सदस्य विमल धामी, जिल्ला सदस्य धन बहादुर बिक, हरिलाल जोशी, र माधव पौडेललाई बधाईसहित खादा ओढाइ सम्मानपत्र प्रदान गरियो।
कार्यक्रमको अध्यक्षता वडा नं २ का अध्यक्ष कलबिर चौधरीले गरेका थिए, भने प्रमुख अतिथिको भूमिका नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य यज्ञप्रसाद कडेलले निर्वाह गरेका थिए। विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य धनेश पन्त र लेखा विभाग सदस्य विष्णु प्रसाद खनाल सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कडेलले पत्रकारिताको भूमिका लोकतन्त्रको सुदृढीकरण र समाजको सशक्तिकरणका लागि अतुलनीय रहेको बताउँदै, सत्य, निष्पक्ष र निर्भीक पत्रकारिताको आवश्यकता औंल्याए। उनले क्षेत्रीय मुद्दाहरू उजागर गर्न र समाधानमा योगदान पुर्याउन पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

वडा अध्यक्ष चौधरीले सम्मानित पत्रकारहरूलाई समाजको समस्या उजागर गर्दै समाधान खोज्ने माध्यमका रूपमा पत्रकारिताको योगदानलाई अझ प्रभावकारी बनाउन आग्रह गरे। उनले स्थानिय सरकार र पत्रकारिताबीच सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सहजिकरण वडा नं २ का सचिवले गरेका थिए।सम्मान कार्यक्रममा समाजसेवी, स्थानिय पत्रकार, र विभिन्न पेशा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। सम्मानपत्र प्रदान गर्ने यो अवसरले नव निर्वाचित पत्रकारहरूको उत्साह अभिवृद्धि गर्दै पत्रकारिता क्षेत्रको उत्तरदायित्वलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।








