बेलौरी, २५ पौष। कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा “प्रथम भानु गोल्डकप २०८१” फुटबल प्रतियोगिता हुने भएको छ। पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको न्यू भानु युवा क्लबको आयोजनामा ठूलो धनराशिको फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।
क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगिता पुनर्वास नगरपालिका वडा नम्बर स्थित भानु खेलमैदानमा हुने जनाएको छ।

प्रतियोगितामा जम्मा १२ टिमहरु सहभागी रहेको आयोजकले जनाएको छ। क्लब सचिव जय सिंह ठकुरीका अनुसार, फुटबल खेलमार्फत उत्कृष्ट प्रतिभाको विकास र खेलकुदप्रति नयाँ पुस्ताको आकर्षण सहित लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए।
प्रतियोगितको मुख्य प्रायोजक पुनर्वास नगरपालिका कार्यालय र सह- प्रायोजक प्रकाश दाहाल प्रतिष्ठान काठमाण्डौ रहने जनाईएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कारः नगद ५ लाख, मेडल, र प्रमाणपत्र, द्वितीय पुरस्कारः नगद २ लाख ५० हजार, मेडल, र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकः नगद १० हजार, उत्कृष्ट डिफेन्सः नगद १० हजार, म्यान अफ द म्याचः प्रत्येक खेलका लागि १ हजार ५ सय, सर्वाधिक गोलकर्ताः नगद १० हजार र खेलभरीकै उत्कृष्ट खेलाडीः नगद १५ हजार पुरस्कार रहेको जनाएइको छ।
प्रतियोगिता करिब एक हप्तासम्म चल्नेछ। कार्यक्रमको उद्घाटन पुर्व खानेपानी मन्त्री विना मगरले गर्ने तयारी रहेको छ भने समापन पुनर्वास नगर प्रमुख तोया प्रसाद शर्माले गर्ने तय भएको छ। प्रतियोगिताको सफलताका लागि आयोजकले सम्पूर्ण खेलप्रेमी र स्थानीय नागरिकलाई सहभागिताको लागि आह्वान गरेको छ। यो प्रतियोगिताले पुनर्वासमा खेलरौनक ल्याउने छ।





