हात्तीले कञ्चनपुर पुनर्वास-९ सिताबस्तिमा फेरि नोक्सान गर्यो

धनबहादुर बिक,पुनर्वास, २६ पुस। कञ्चनपुरको पुनर्वास नगरपालिका-९ सिताबस्तिमा फेरि जंगली हात्तीको बथानले बालीनाली सखाप पारेको छ।

एक साता अघि पुस १६ गते राति किसानका बालिमा प्रवेश गरेर नोक्सान गर्न सुरु गरेको जंगली हात्तीले यस पटक भने धेरै किसानका बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ।

हरेक वर्षझैं यस वर्ष पनि कञ्चनपुरको पुनर्वास नगरपालिका-९ सिताबस्तिमा जंगली हात्तीको बथानले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि त्यहाँका किसानहरू हात्तीको आतंकबाट आजित भएका छन्।

रातको समयमा ठूलो संख्यामा हात्तीको बथानले गहुँ, उखु, तोरी तथा केरा नष्ट गरेको हात्ती आतंक संघर्ष समिति संयोजक केशव तिमिल्सिनाले बताए।

बच्चासहित ३०/३५ को संख्यामा हात्तीको बथान रातिको समयमा गाउँ पसेर उज्यालो हुँदा नजिकैको भारतीय दुधुवा नेशनल पार्कभित्र प्रवेश गर्ने गरेको पीडित किसानहरूले बताएका छन्।

हात्तीले सो क्षेत्रका किसानहरूको गहुँ, उखु, तोरी गरी करिब १० बिगाहा बाली पूर्ण रूपमा नोक्सान गरेको छ।

जंगली हात्तीले केशव प्रसाद तिमिल्सिनाको १५ कठ्ठा उखु नष्ट पारेको छ भने तुलसी सार्कीको १ बिगाहा गहुँ बाली नोक्सान गरेको छ। त्यसैगरी, शेरबहादुर थापाको १० कठ्ठा गहुँ तथा करेसाबारीको केरा, दलबहादुर थापाको १० कठ्ठा गहुँ बारीमा नोक्सान भएको छ।

हात्तीले कांस अं कामीको १० कठ्ठा गहुँ, हिरालाल सुनारको १० कठ्ठा गहुँ, र देबबहादुर दमाई, करि दमाई, धना दमाई, प्यारू दमाई, किशन दमाई, नरि दमाई, विर्के सार्की, चन्द्रे सार्की, किडो थापा लगायतको गहुँ, तोरी र उखु बालीमा क्षति पुर्‍याएको संघर्ष समिति संयोजक तिमिल्सिनाले बताएका छन्।

हात्तीले उखु र गहुँ बाली मात्र नभई घर नजिकै करेसाबारीमा लगाइएको केरा खेती समेत सखाप पारेको छ।

हरेक वर्ष हात्तीबाट हुने क्षति रोकथाम गर्न विद्युतीय तारबार भए पनि विद्युतीय पावर कम हुँदा हात्ती रोकथाम गर्न नसकिएको दुधुवा नेशनल हात्ती रोकथाम संघर्ष समिति अध्यक्ष केशव प्रसाद तिमिल्सिनाले बताए।

हात्तीले हिउँदे बाली मात्रै नभई वर्षे बाली समेत नोक्सान गर्दै आएको पीडित तिमिल्सिनाले बताए।उखु बाली काट्न योग्य र गहुँ बाली हरियाली हुँदै गरेको अवस्थामा एक्कासि हात्तीको बथानले नोक्सान गर्न थालेपछि किसानहरू निराश भएका छन्।हात्ती बालिमा पस्न थालेपछि गाउँमा त्रास फैलिएको छ।

हात्तीले नोक्सान गर्न थालेपछि हात्ती धपाउन जाग्राम बस्ने योजना बनाएको समाजसेवी मदन विकले बताए।हात्ती आतंक दिनप्रतिदिन बढेको भए पनि अहिलेसम्म तीनवटै तहका सरकारका प्रतिनिधि सो क्षेत्रमा अवलोकन गर्न पुगेका छैनन् भन्ने गुनासो पीडितहरूले गरेका छन्।

भारतीय दुधुवा नेशनल पार्क नजिक हात्तीको बथान रहेको र दोदा नदी तरेर जुनसुकै बेला गाउँ पस्न सक्ने हुँदा किसान तथा आम नागरिकहरूलाई सचेत रहन कुण्डा सब-डिभिजन वन कार्यालय पच्कडियाका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ