बेलौरी, कञ्चनपुर, २७ पौष – ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बेलौरीको भिमदत्त चोक पिपल चौतारामा विशेष कार्यक्रम आयोजना गरियो। कार्यक्रमका प्रमुख अतिथि महाकाली मावि बेलौरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा बुद्धिजीवी प्रेम सिंह बोहराले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै वर्तमान पुस्ताले उहाँको विचार र नीतिलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम व्यवस्थापन सदस्य आत्माराम दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गराए। शुभकामना मन्तव्यमा वात्सल्य विद्या निकेतनका प्रधानाध्यापक लक्ष्मण सिंह दियालले जातजाति र धर्मका समुदायहरूबीचको सहअस्तित्वले समाजलाई बलियो बनाउने उल्लेख गरे। ब्राईट स्टार स्कुलका प्रधानाध्यापक विष्णु शर्मा न्यौपानेले राजनीतिक विचारभन्दा माथि उठेर राष्ट्र निर्माणमा योगदान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा संयोजक टेक ब. साउदले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने र भविष्यमा अझ व्यवस्थित र प्रभावकारी रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

अन्य वक्ताहरू बुद्धिजीवी हर्क सिंह कुवर, नेत्रराज गिरी, सिपी पोखरेल, र गोकर्ण प्रसाद काफ्लेले पनि पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राष्ट्रिय एकता र सहिष्णुताको महत्त्वमाथि प्रकाश पारे। कार्यक्रममा स्थानीय नागरिक, शिक्षक, विद्यार्थी, सेवानिवृत्त प्रहरी, र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रम व्यवस्थापनमा संयोजक टेक ब. साउद, कोषाध्यक्ष गोविन्द प्रसाद सापकोटा, र सचिव खडक शाहको नेतृत्व रहेको थियो।
फोटो फिचरः










