बेलौरी, कञ्चनपुर, माघ २। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको हत्या प्रकरणमा नयाँ तथ्यहरू बाहिर आएका छन्। प्रारम्भिक अनुसन्धानमा उनकी श्रीमती जनक कुमारी रानाले बिहानको झगडापछि दिउँसो सुतेका बेला ईटा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन्।
प्रहरी अनुसन्धानका क्रममा मृतकको जीवन बीमा रहेको कारणले यस घटनामा अन्य कोही कसैको संलग्नता हुनसक्ने शंकामा अनुसन्धान विस्तार गरिएको थियो। अनुसन्धानका क्रममा भारत उत्तर प्रदेश, लखिमपुर खिरी, जिल्ला सम्पूर्णानगर, बस्ने ३० वर्षीय फारुखसँग मिलेर योजनाबद्ध रूपमा घटना घटाइएको प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले बताए।
प्रहरीको प्राविधिक विश्लेषणबाट जनक कुमारी र फारुखबीच बारम्बार कुराकानी भएको देखिएको छ। अनुसन्धानपछि कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइ फारुखलाई पौष २८ गते बेलौरी नगरपालिका वडा नम्बर २ थापाचोकबाट पक्राउ गरिएको थियो। प्रारम्भिक सोधपुछका क्रममा फारुखले मृतककी श्रीमतीसँग सम्बन्ध रहेको स्वीकार गरेको बताइएको छ। उनले सियाराम रानालाई मारी जीवन बीमाबाट प्राप्त रकम र सम्पत्तिबाट घर बनाएर बस्ने योजना रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
जनक कुमारी रानालाई कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि थुनामा राखिएको छ भने फारुखविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





