मीरा श्रेष्ठ, माघ ८
बेलौरी–बेलौरी नगर युवा सञ्जालको आयोजना तथा बेलौरी नगरपालीका वडा नं ६ को सहकार्यमा आउँदो यहि शुक्रबार अर्थात् माघ ११ गते मा.वि. स्तरीय वादविवाद प्रतियोगिता आयोजना हुने भएको छ ।

अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा हुने सो प्रतियोगितामा बेलौरी नगर युवा सञ्जालले एक सुचना जारी गर्दै बेलौरी नगरपालीका भित्र रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत माध्यमिक तह अर्थात् कक्षा ९ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई एकजनाको दरले सहभागी गराउन अनुरोध गरेको छ ।

‛विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन : वरदान वा अभिशाप’ शीर्षक रहने सो प्रतियोगितामा सहभागी भएर विद्यार्थीलाई आफ्नो वाककलाको विकास र आत्मविश्वासलाई बढाउन मद्दत पुग्ने युवा सञ्जालका अध्यक्ष विष्णु दत्त अवस्थीले बताए ।
उनले थप भने, ‟यस विषयमा विभिन्न अध्ययन तथा अनुसन्धान गरेपश्चात् विद्यार्थीहरुले थप नयाँ ज्ञान बटुल्न सक्नेछन् र मोबाईलको सहि सदुपयोग गर्न अझ रचनात्मक उपायहरु अपनाउने छन् । त्यसैगरी मोबाइलको दुरुपयोग गरेको खण्डमा के–कस्ता समस्याहरु भोग्नपर्ने रहेछ त भन्ने बारे सतर्क पनि हुनेछन् ।”

शुक्रबार बेलौरी नगर खेलकुद समितिको हल, खुला मञ्चमा हुने सो प्रतियोगिता बिहानको ठीक १० बजे बाट सुरु हुनेछ । नेपाली भाषामा आधारित रहने वादविवाद प्रतियोगितामा प्रत्येक वक्ताले बढिमा ६ मिनेटसम्म आफ्ना कथन राख्न पाउने छन् । प्रति सहभागी शुल्क रु.२५० लिईने र प्रतियोगिता सुरु हुनु अगाडि नै विद्यालयले सहभागी विद्यार्थीको परिचयपत्र सहित उपस्थित गराईसक्नुपर्ने युवा सञ्जालले बताएको छ । नाम दर्ताको लागि भने माघ १० गते दिउँसो १२ बजेसम्मको अवधि रहने छ ।
प्रतियोगिताबारे थप जिज्ञासा रहेको अवस्थामा बेलौरी नगर युवा सञ्जालका अध्यक्ष विष्णु दत्त अवस्थी तथा बेलौरी नगरपालीका वडा नं ६ युवा क्लबका अध्यक्ष प्रोजल चौधरीलाई सम्पर्क गर्न सकिने बताइएको छ ।





