श्री शहीद दशरथ पुस्तकालयले माघ १६ गते शहीद दिवस विशेष कार्यक्रम आयोजना गर्दै

मीरा श्रेष्ठ, माघ १२, बेलौरी।  कञ्चनपुरको बेलौरीमा अवस्थित श्री शहीद दशरथ पुस्तकालयले आफ्नो ४५ औं वार्षिकोत्सव तथा शहीद दिवस विशेष कार्यक्रमको तयारी गरेको छ। माघ १६ गते हुने कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण र माल्यार्पण गरिनेछ। पुस्तकालयका कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश पोखरेलले शहीदहरुको योगदानलाई स्मरण गर्दै सम्पूर्ण आजीवन सदस्य, शिक्षा प्रेमी, बुद्धिजीवी र स्थानीय जनसमुदायलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।

यस विशेष कार्यक्रमको अघिल्लो दिन माघ १५ गते बेलौरी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ५ देखि ८ सम्मका छात्रछात्राहरूबीच चित्रकला प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगिताले बालबालिकाको सिर्जनशीलता, प्रतिस्पर्धात्मक भावना, र अध्ययनप्रतिको रुचिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।पुस्तकालयका सल्लाहकार संयोजक हर्क सिंह कुँवरले यो प्रतियोगिता शहीद दिवसको आदर्शलाई जीवित राख्दै बालबालिकामा बौद्धिकता, सिर्जनशीलता, र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहायक हुने विश्वास व्यक्त गरेका छन्।

पुस्तकालयका कार्यसमिति सदस्य अशोक पाण्डेयले यो कार्यक्रम शहीदहरुको बलिदानलाई सम्मान गर्दै समाजमा शिक्षा र चेतनाको महत्वलाई सुदृढ बनाउन सहायक हुने बताए। यसले समुदायलाई शहीदहरुको आदर्शबाट प्रेरणा लिएर जिम्मेवार समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्ने विश्वास गरिएको छ। शहीद दिवस विशेष कार्यक्रमले समुदायलाई शिक्षा, ज्ञान, र प्रेरणाको नयाँ दिशामा अघि बढ्न मार्गचित्र प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ