केशब भट्ट, १२ माघ, कंचनपुर ।
नेपाली कांग्रेसका नेता दिवान सिंह बिष्टले नेपाली कांग्रेस जनताको पार्टी भएको बताएका छन्।
कंचनपुरको बेलडाँडीमा आयोजित सय दिने विशेष अभियान अन्तर्गत गाउँ सम्मेलनमा संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश मामिला तथा विधायन समिति सभापति बिष्टले पार्टीको ऐतिहासिक योगदान र वर्तमान भूमिकालाई स्मरण गर्दै नेपाली कांग्रेस देशका हरेक वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने जनताको पार्टी भएको बताएका हुन्।

उनले कांग्रेसले लोकतन्त्रको स्थायित्व, मानव अधिकारको रक्षा र राष्ट्रिय एकताको लागि खेलेको भूमिकालाई विशेष रूपमा उल्लेख गरे। बिष्टले भने, “कांग्रेसले सदैव देश र जनताको हितका लागि काम गरेको छ। पार्टी कुनै व्यक्ति विशेष नभई नेपाली जनता र बिपिको समाजवाद सिद्धान्तबाट निर्देशित छ।”
कार्यक्रममा नेपाली कांग्रेस कंचनपुर जिल्ला कार्यसमितिका उपसभापति तथा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, उपाध्यक्ष शान्ति नाथसहित क्षेत्रीय, प्रदेश र नगर समितिका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।






