मीरा श्रेष्ठ, माघ १२
बेलौरी, कञ्चनपुर

देशभर यहि माघ २२ गतेबाट सञ्चालन हुन गईरहेको एच.पी.भी खोप अभियान कार्यक्रम अन्र्तगत बेलौरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले आज महिला स्वास्थ्य स्वयंसेविकाको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जनप्रतिनिधि, विद्यालयका प्र.अ. तथा प्रतिनिधि, युवा सञ्जाल तथा मिडियाकर्मी समेतको उपस्थितीमा सम्पन्न सो कार्यक्रमले बेलौरी नगरपालीकाको वडा नं ४ र ६ मा माघ २२ गतेदेखि माघ २५ गतेसम्म ३ दिन खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर विष्टको अनुसार सम्बन्धित वडाका विद्यालयहरुबाट प्राप्त तथ्यांक अनुसार जम्मा ७७५ जना कक्षा ६ देखि १० कक्षासम्मका किशोरीहरु यस खोप अभियानबाट लाभान्वित हुदैछन् भने विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समुहका २० जना किशोरी समेत यस अभियानमा समेटिनेछन् । खोप अभियानका लागि ४ र ६ नं वडा मा १३ ओटा खोप केन्द्र रहने समेत उनले बताएका छन् ।

कञ्चनपुर जिल्लाको सबैजसो स्थानीय तहमा यस खोप अभियानबारे सरोकारवालाहरुसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम भईसकेको तर बेलौरी नगरपालीकामा भने विलम्ब भईरहेको हुँदा आज श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले सो कार्यक्रम आयोजना गरेको हो ।

असुरक्षित यौनसम्पर्क तथा असुरक्षित यौनव्यवहारजन्य क्रियाकलाप बाट ह्युमन पपिलोमा भाईरसको संक्रमण भई महिलाहरुमा पाठेघरको मुखलाई आक्रमण गर्दै समयमै उपचार तथा परिक्षण नगरिए भाईरसले विकसीत रुप लिएपछि क्यान्सरको रुप लिने भएको कारण अनिच्छित रोगलाई निवाकरण गर्नको लागि एच.पी.भी. खोपको अवधारणा ल्याएको स्वास्थ्यकर्मीहरु बताउछन् । सम्भवत : हालसम्म क्यान्सरको निवारण गर्ने एउटै मात्र खोप एच.पी.भी. खोप रहेको स्वास्थ्यकर्मीहरुको आँकलन छ भने जनमानसलाई क्यान्सर भनेर पाठेघरको मुखको क्यान्सरलाई मात्रै बुझिदिन उनिहरुकाे अनुरोध गरेका छ।

नीजि स्वास्थ्य संस्थाहरुबाट करिब ६ हजार ५ सय रुपैया जति एक डोजको लागत तिर्नुपर्ने अवस्था रहेको खोप हाल नेपाल सरकारले किशोरीहरुका लागि निः शुल्क उपलब्ध गराउदै गरेको सुन्दा खुशी लागेको बेलौरीका महिलाहरु बताउछन् भने कतिपय भने अझै सशंकित देखिएका छन् ।
श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर विष्टले सबै महिला दिदिबहीनी, किशोरी र समग्रमा परिवार तथा सरोकारवालावर्गलाई यस खोप प्रति ढुक्क रहन अनुरोध गर्दै माघ २२ गते बेलौरीको वडा नं ४ र ६ मा सबैजनालाई सहकार्य गरिदिनुहुन अनुरोध गरेका छन् ।





