१९ माघ, बेलौरी। श्री गोकुलपुर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। शनिबार बेलौरी–३, गोकुलपुरमा संस्थाका अध्यक्ष जगदीश रानाको अध्यक्षतामा सम्पन्न साधारण सभाले पुरानै समितिलाई निरन्तरता दिने निर्णय गरेको संस्थाका सचिव भुपेन्द्र शाहीले जानकारी दिए।

कार्यक्रममा संस्थाको हालसम्मको उपलब्धि, आर्थिक प्रतिवेदन, भावी योजनाहरू तथा ग्रामीण क्षेत्रमा विद्युत् विस्तारका विषयमा छलफल गरिएको थियो। साधारण सभाको खुला सत्रका प्रमुख अतिथि संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश मामिला तथा विधायन समिति सभापति दिवान सिंह बिष्टले सहकारीमार्फत विद्युत् व्यवस्थापनका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव भुपेन्द्र शाहीले कार्यक्रम सञ्चालन गरेका थिए। सभामा पूर्व सांसद पुरन राना थारु, बेलौरी-२ का वडाध्यक्ष कलवीर चौधरी, गोकुलपुर बजार व्यवस्थापन समिति पूर्व अध्यक्ष राम बहादुर खड्का लगायत स्थानीय उपभोक्ता, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको सहकारीका लेखा समिति संयोजक दिनेश कुवँरले बताए।





