केआईआईटी विश्वविद्यालयका संस्थापक अच्युता सामन्तलाई घटना छानबीनका लागि बोलाईयो

मीरा श्रेष्ठ,

गत आईतबार अर्थात् फागुन ४ गते भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु भएसँगै राष्ट्रिय तथा अन्तर्रास्ट्रिय जगतमा समेत सनसनी बन्न पुगेको घटनाले पछिल्लो समय विभिन्न प्रारुप लिएको अवस्था छ ।


सोहि विश्वविद्यालयमा अध्ययनरत भारतीय युवक श्रीवास्तव सँगको प्रेम सम्बन्धमा मृत छात्रालाई सो युवकबाट मानसीक तनाव दिने, गाली गलौज गर्ने जस्ता जघन्य क्रियाकलाप गरेको फोन अडियो समेत अहिले बाहिर प्रकाश भईरहेको छ ।

यसैक्रममा सहपाठी छात्राको मृत्यु आत्महत्या नभई हत्या हो भनि नेपाली विद्यार्थीले विश्वविद्यालयको प्रशासनसँग घटनाको निप्पक्ष छानबीनको लागि माग गर्दा उनीहरुमाथि प्रशासनका प्रमुख लगायत कर्मचारी तथा अपरिचित व्यक्तिहरुले मौखिक तथा शारीरिक दुव्र्यवहार समेत गरेर नेपाल प्रस्थान गर्न ठाडो धम्की दिएका थिए ।


त्यतिमात्र नभई नेपालको राष्ट्रिय स्वाभिमानमा समेत आँच आउने किसीमका मौखिक दुर्व्यवहार विश्वविद्यालयका जयन्तिनाथ र मन्जुसा पाण्डे नामक महिला कर्मचारीहरुको भिडियो सार्वजनिक भएसँगै नेपाली लगायत न्यायका पक्षधर विश्वभरका मानिसहरुले यतिबेला सो विश्वविद्यालयको सामाजिक सञ्जालमा घोर भर्त्सना गर्दै आएका छन् । भारतीय नागरिक तथा सञ्चारमाध्यमहरुले पनि केआईआईटी विश्वविद्यालय प्र्रशासनको निन्दा गरिरहेका छन् भने अहिले २०० भन्दा बढि नेपाली विद्यार्थीहरु जोगबनी तथा रक्सौल नाकाबाट स्वदेश फिर्ति भएका छन् ।

विश्वविद्यालयमा पनि मृत नेपाली छात्रा र समग्र नेपाली विद्यार्थी माथि गरेको अमानवीय ज्यादतीले समाज तथा भारतकै प्रतिष्ठामा खलल पुग्ने काम गरेको भनि त्यहाँका स्थानीयले विश्वविद्यालयमा विरोध प्रदर्शन र संचरना माथि आक्रमण गरेका छन् ।


यसरी चौतर्फी चर्को आलोचना भएपछि ति दुई महिला कर्मचारीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट माफी समेत मागेको भिडियो सार्वजनिक गरेका छन् भने आरोपी कथित प्रेमी श्रीवास्तवलाई पनि प्रहरीले हिरासतमा लिईसकेको छ । सँगै सबै नेपाली विद्यार्थीलाई कलेज फिर्ता हुनसमेत फोन गरेको भिडियोहरु बाहिर आएको छ, जसमा कतिपय नेपाली विद्यार्थीहरुले बिरामी भई नाजुक भएको स्थितीमा समेत नेपाल जान धम्की दिएको उल्लेख गरेका छन् । त्यस्तै, कतिपय विद्यार्थीहरुले उनीहरुको सुरक्षाको सुनिश्चितता नभएसम्म अब विश्वविद्यालय नफर्कने बताएका छन् ।


यसबीच विश्वविद्यालयका संस्थापक अच्युत सामन्तले आज मृत छात्राको बुवालाई भेटि उनको नाममा नेपाली विद्यार्थीहरुका लागि विशेष छात्रवृत्ति कार्यक्रम ल्याउने प्रतिवद्धता गरेका छन् । पढाईमा मेहनती र अब्बल उनी जस्ता विद्यार्थीहरुले विना कुनै अवरोध पढ्न पाउने व्यवस्था सुनिश्चित गर्नको लागि यो छात्रवृत्ति सहायक हुने सामन्तको भनाई थियो ।


यद्यपि ओडिशा सरकारले नेपाली छात्राको मृत्यु प्रकरणबारे बुझ्नको लागि अच्युता सामन्तलाई उच्चस्तरीय समितिमा उपस्थित हुन आदेश दिएको छ । भारतीय सञ्चार माध्यमहरुको अनुसार सामन्ता भोली शुक्रबार साँझ ६ः३० बजे समितिमा उपस्थित हुने छन् । ओडिशाका कानुन मन्त्री पृथ्वीराज हरिचन्दनले घटनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न कोहि पनि व्यक्ति कानुनी कारवाहीबाट छुट नहुने बताएका छन् भने आगामी दिनमा यस्ता घटना हुन नदिन नेपाली विद्यार्थीहरुको सुरक्षाको लागि पहल समेत गर्ने आश्वासन व्यक्त गरेका छन् ।


विश्वविद्यालयका संस्थापक अच्युता सामन्त भारतको बीजु जनता दल (बिजेडी) का पुर्व सांसद समेत हुन् र उनलाई समयसमयमा सरकारी कोषको दुरुपयोग गरेको अनाधिकृत रुपले जग्गा हडपेको आरोपहरु समेत लाग्ने गरेका छन् । त्यस्तै, विश्वविद्यालयमा यसअघि पनि चार विद्यार्थीको विभिन्न तवरमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ