केशब भट्टराई, १० फागुन, पुनर्वास।“खेल खेलौं, स्वस्थ रहौं” भन्ने मूल नाराका साथ कञ्चनपुरको पुनर्वासमा “जेष्ठ नागरिक स्मृति एवम् सम्मान मेयर कप २०८१” सुरु भएको छ। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ वडास्तरीय पुरुष तथा खुला भेट्रान फुटबल प्रतियोगिता शनिबार एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले उद्घाटन गर्नुभएको छ।

पुनर्वास ३ खेलकुद विकास समिति (कालिका युवा क्लब र राम युवा क्लब) को संयुक्त आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको समितिका अध्यक्ष जिन बहादुर तामाङले जानकारी दिनुभयो। प्रतियोगिताको फाइनल फाल्गुन २१ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो।
फुटबल प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाका उपप्रमुख भुलीया कुमारी रानाले पुनर्वासमा रंगशाला निर्माणका लागि चौतर्फी माग उठेको बताउनुभयो। तर, पालिकाको बजेटले मात्र सम्भव नभएकाले प्रदेश र केन्द्र सरकारबाट योजना ल्याउन प्रतिनिधि सभा सदस्य तारा लामा तामाङलाई आग्रह गर्नुभयो। पछिल्लो समय नगरभित्र खेलकुदका कार्यक्रमहरू दिनानुदिन बढ्दै गएकाले पुनर्वासलाई खेलकुदको हब बनाउन तीन तहका सरकारहरूको कार्यक्रममा माग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यस्तै, फुटबल प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले पनि पुनर्वासमा रंगशाला निर्माण गर्नका लागि जमीन नपाएको भन्दै दुःख व्यक्त गर्नुभयो। २५ वर्षका लागि आवास कम्पनीसँग जग्गा लिजमा लिन खोज्दा समेत नपाएकाले पुनर्वासमा बन्ने रंगशाला फुलबारीमा सारिएको बताउनुभयो। खेल क्षेत्रमा पुनर्वास आफैं परिपक्व भए पनि कहिलेकाहीं हुने विवादले खल्लो महसुस गराउने भन्दै अनुशासित भएर खेल खेल्न सबैलाई उहाँले आग्रह गर्नुभयो।

फुटबल प्रतियोगिता उद्घाटन गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले पुनर्वासलाई खेलकुद हब बनाउन सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो। पुनर्वासमा रंगशाला बनाउन एकपटक यस क्षेत्रका जनप्रतिनिधि, स्थानीयहरू र सरकार प्रमुखहरूसँग वृहत छलफल गर्न आवश्यक रहेको उहाँको तर्क छ। रंगशाला निर्माण गर्न सकिएमा आफ्नो क्षेत्रको खेलकुद विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो।

प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित आकर्षक ट्रफी, प्रमाणपत्र, र मेडल प्राप्त गर्नेछ। उपविजेता टिमले ८१ हजार ८ सय १८ रुपैयाँ नगदसहित आकर्षक ट्रफी, प्रमाणपत्र, र मेडल प्राप्त गर्नेछ। यस्तै, म्यान अफ द म्याचले प्रत्येक खेलमा १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ।
भेट्रान खेलतर्फ विजेता टिमले २२ हजार २ सय २२ रुपैयाँ नगदसहित आकर्षक ट्रफी, प्रमाणपत्र, र मेडल प्राप्त गर्नेछ। उपविजेता टिमले ११ हजार १ सय ११ रुपैयाँ नगदसहित आकर्षक ट्रफी, प्रमाणपत्र, र मेडल प्राप्त गर्नेछ। यस्तै, म्यान अफ द म्याचले प्रत्येक खेलमा ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ।
उद्घाटन खेलमा सिद्धार्थको जीत
शनिबार भएको उद्घाटन खेल सिद्धार्थ युवा क्लब पुनर्वास–७ र न्यु विरेन्द्र युवा क्लब पुनर्वास–१ बीच भएको थियो। सो क्रममा सिद्धार्थ युवा क्लबले ३–१ को फराकिलो जीत निकालेको छ। सिद्धार्थ युवा क्लबले ३ गोल गर्दा न्यु विरेन्द्र युवा क्लब पुनर्वास–१ ले १ गोल मात्र फर्काउन सकेको थियो।
यस्तै, आइतबार प्रतियोगितामा २ खेल हुनेछन्।पहिलो खेल दिउँसो १ बजे कञ्चन जाइ युथ क्लब (केजेवाइसी) लालझाडी–४ र दशरथ युवा क्लब पुनर्वास–२ बीच हुनेछ।दोस्रो खेल दिउँसो ३ बजे आयोजक पुनर्वास ३ खेलकुद विकास समिति (योङ्ग) र त्रिभुवन युवा क्लब (टीवाइसी) पुनर्वास–६ बीच हुने आयोजकले जनाएको छ।





