बेलौरी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास योजना सम्पन्न, उपप्रधानमन्त्री प्रकाशमान सिंहद्वारा उद्घाटन

बेलौरी, १५ फागुन। बेलौरी नगरपालिकामा सहरी पूर्वाधारलाई व्यवस्थित, आधुनिक, र दिगो बनाउन सञ्चालित “एकीकृत सहरी पूर्वाधार विकास कार्य” अन्तर्गतका निर्माण कार्यहरू सफलतापूर्वक सम्पन्न भएका छन्। रोयल कन्स्ट्रक्सन, धनगढी, कैलाली द्वारा निर्धारित समयभन्दा छिटो सम्पन्न गरिएको यो योजना नगरको महत्वपूर्ण पूर्वाधार विकास योजनामध्ये एक बनेको छ।

सम्पन्न परियोजनाको उद्घाटन तथा शिलालेख अनावरण उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह द्वारा गरिएको थियो। कार्यक्रममा संघीय सांसद तारा लामा, सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी लगायत विभिन्न जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, स्थानीय बासिन्दा, विद्यार्थी, नागरिक समाजका प्रतिनिधिहरू समेत कार्यक्रममा उपस्थित थिए।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बेलौरी नगरपालिकाका विभिन्न पूर्वाधार विकासका कार्यहरू समयमा सम्पन्न गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र हस्तान्तरण गरे। उनले स्थानीय जनताको आवश्यकता अनुरूप योजनाहरूलाई प्राथमिकता दिन आग्रह गरे। सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले क्षेत्र नम्बर १ का विकास निर्माण कार्यहरूमा थप बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औंल्याए। संघीय सांसद तारा लामाले विकासका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे।

प्रमुख अतिथि उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनतालाई सहज सेवा दिने योजनाहरूलाई प्राथमिकता दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबैको आकांक्षा पूरा गर्न नसके पनि बहुल जनताको आवश्यकताअनुसार योजनाहरू कार्यान्वयन गरिने बताए।

निर्माण कार्य निर्धारित समयभन्दा छिटो सम्पन्न गरेबापत निर्माण व्यवसायी रोयल कन्स्ट्रक्सनका सञ्चालक प्रकाश सेठीलाई विशेष सम्मान प्रदान गरिएको थियो। निर्माण कम्पनीको योगदानको उच्च प्रशंसा गर्दै समयमै काम सम्पन्न गर्नु उल्लेखनीय रहेको बताईएको थियो।

नगरपालिकाको भौतिक पूर्वाधार सुधार गर्ने लक्ष्यअनुसार प्रमुख संरचनाहरू निर्माण गरिएका छन्। जसअन्तर्गत ६७५ मिटर लामो, १० मिटर चौडाइको दुई लेन अस्फाल्ट रोड, ५६० मिटर लामो आरसिसि सडक निर्माण, अस्फाल्ट सडकको बायाँ ६२६ मिटर र दायाँ ६५८ मिटर लम्बाइको आरसीसी ढल निर्माण गरिएको छ। कलकत्ता हाटबजारमा २ ओटा स्टल शेड र एक सार्वजनिक शौचालय निर्माण गरिएको छ, जुन अपांगमैत्री रहेको छ। साथै बेलौरी बजारमा ५ ओटा हाई मास्ट लाइट तथा ६६ ओटा सडक बत्ती जडान गरिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ