मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

बेलौरी नगरपालिकाको आर्थिक सहयोग र मानव अधिकार समूहको आयोजनामा ‘लैङ्गिक समानता र महिला सशक्तिकरण तथा मानव अधिकार’ विषयक ३ दिने तालिम सम्पन्न भएको छ।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा फागुन २० देखि २२ गतेसम्म सम्पन्न सो तालीममा कृषि समूह, अगुवा महिलाको प्रतिनिधित्व रहने गरि प्रत्येक वडाबाट कम्तीमा पनि २ जनाको उपस्थिति रहने गरि वडाबाट सिफारिस गरिएका महिला तथा मानव अधिकार समूहको कार्यसमिति बाट समेत सदस्यहरूको सहभागिता रहने गरि कुल ३५ जना प्रशिक्षार्थी रहेका थिए।

मानव अधिकार बेलौरी समुहका संयोजक तथा बेलौरी उद्योग वाणिज्य संघका महासचिव गोविन्द सापकोटा सभाध्यक्ष रहेको तालीम समापनको सत्रमा प्रमुख अतिथिमा बेलौरी नगरपालिकाको उप-प्रमुख जोगराम चौधरी, विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह ऐरि र अतिथिहरुमा बेलौरी नगरपालिकाको महिला शाखा प्रमुख विमला वजगाई, उद्योग वाणिज्य संघ कार्यालय सचिव सरिता वजगाई र सञ्चारकर्मी राजमति वम चन्द रहेका थिए ।

तालीमको समापनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरीले बेलौरी नगरपालिकाले सदैव महिलाको हकहित र आत्मनिर्भरताको पक्षलाई ध्यान दिदै विभिन्न संस्थाहरुसँग मिलेर वडागत रुपमा महिला सशक्तिकरणका कार्यक्रम गर्दै आएको जिकिर गरे । उनले थप भने, “हाल महिलाको निमित्त कार्यक्रम राखिएतापनि पुरुषहरु पनि महिलाको सर्वाङ्गिण विकासमा सकरात्मक नहुने हो भने घरबार तथा समाज चलाउन सक्दैनौँ । महिलाहरुको कामको बोझ पुरुषको तुलनामा धेरै हुन्छ, तर पुरुषले गरेका काम देखिने भएकाले महिलाहरुको योगदानलाई पनि उतिकै सम्मान गर्नुपर्छ ।”

सहभागी मिना चौधरीले तालीममा सहभागी हुने अवसर दिईएकोमा वडा तथा आयोजकलाई धन्यवाद दिदै तालीमले व्यक्तिगत रुपमा आत्मविश्वास थपिएको भन्दै अझै पनि वृहत् स्तरमा महिलाको चेतना वृद्धि र सशक्तिकरणको कार्यक्रम ल्याउनको लागि बेलौरी नगरपालिका उप-प्रमुखसमक्ष अनुरोध गरिन् ।

त्यस्तै अर्का सहभागी महाकली चौधरीले नेतृत्व र नेतृत्वसीप तथा लैङ्गिक समानता तथा महिला सशक्तिकरण बारे जानकारी पाएको बताउदै समस्यामा परेका महिला दिदिबहिनीको उत्थानका लागि बेलौरीमा मानव अधिकार समूह जस्तो संस्था पनि रहेछ भन्ने बारे थाहा पाएको बताईन् ।

तालीमको समापन गर्दै सभाध्यक्ष गोविन्द सापकोटाले महिलाहरुको सहयोग विना पुरुष घरबाहिर जान सकिने अवस्था नरहेको सत्यलाई स्वीकार्दै हरेक पुरुषले महिलालाई समान हिस्सेदारी र सम्मान दिएर समाजमा समता कायम गर्ने भूमिका निभाउनपर्ने बताए । त्यसैगरि महिलाहरुले पनि अब ओझेलमा बस्नु भन्दा पनि गाउँठाउँ तथा समाजमा हुने कार्यक्रमहरुमा सहभागी हुने, विकास निर्माण सम्बन्धि गठन गरिने उपभोक्ता समूहमा सम्मेलित हुने, परिवार तथा समाजको अन्य महिला दिदिबहिनीलाई अगाडि बढ्न हौसला तथा प्रेरणा दिनुपर्ने बताए ।

तालीममा कार्यक्रम संयोजकको भूमिक निर्वाह गरेकि मानव अधिकार समूह, बेलौरीका सचिव कमला चौधरीले अगाडि बढ्न चाहने तर अवसर प्राप्त नभएका लक्षित महिला दिदिबहीनीहरुलाई सहभागी गराई मानव अधिकार तथा महिलाको हकहितका विषयमा सचेतना जगाउने उद्धेश्य स्वरुप तालीमको आयोजना गरिएकोमा ३ दिनको अवधि सकिदै गर्दा सहभागीहरुको प्रतिक्रियाले तालीमको उद्धेश्य पुरा भएको आशय बुझिएको बताईन् ।

यद्यपि महिला दिदिबहिनीहरुले वास्तविक समाजमा गएर आफुले जानेका विषयहरुबारे तर्कसङ्गत अभिव्यक्ति दिने, न्यायको लागि आवाज उठाउने र सशक्तिकरणका लागि आर्थिकोपार्जनमूलक कार्यहरुमा सहभागी र हिस्सेदारी लिन सके भने यस्ता तालीम तथा कार्यक्रमको १०० प्रतिशत लक्ष्य पुरा हुने बताईन् ।

तालीमको अन्तिम दिन कुशल सञ्चारकर्मी राजमति वम चन्दको प्रशिक्षकको रुपमा ‘उद्घोषण कला’ शिर्षकमा सेसन रहेको थियो ।






