मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
बेलौरी नगरपालिका वडा नं ३ का अध्यक्ष सिताराम रिजालको हिजो अर्थात् फागुन २४ गते निधन भएपछि बेलौरी नगरपालिकाको कार्यालयले शोक व्यक्त गर्दै आज पालिकाभर शोक बिदा रहने सुचना जारी गरेको छ ।

यससँगै हिजो अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा वडागत रुपमा राखिएका कार्यक्रमहरु पनि स्थगन गरिएको थियो ।

वडाअध्यक्ष सिताराम रिजाललाई विगत केहि महिनादेखि फोक्सोसम्बन्धि समस्याले ग्रसित बनाएको थियो । वि.सं २००९ भदौ ५ गते धादिङ जिल्लामा जन्मेका उनको ७२ वर्षको आयुमा निधन भएको हो । राजनीतिक क्षेत्रमा वि.सं २०३९ सालदेखि सशक्त रुपमा नेतृत्वदायी भूमिकामा देखा परेका उनको वि.सं २०४१ मा कञ्चनपुरको हाल बेलौरी नगरपालिकामा बसाइँसराइँ भयो । यद्यपि यहाँ आएर पनि राजनीतिमा उस्तै सशक्त हिसाबले अगाडि बढेका उनले अन्ततः वि.सं २०७९ मा आएर वडाअध्यक्ष पदमा जित हासील गरे ।

यसरी लामो समयदेखिको राजनीतिक यात्राको अनुभव र कार्यसम्पादनमा पोख्त उनको निधनले अहिले वडा नं ३ लगायत समग्र बेलौरी नगरपालिकाले अनुभवी व्यक्ति गुमाउन पुगेको महशुश गरेको बताईएको छ ।






