बेलौरीमा एक दर्जनभन्दा बढी मानिस कुकुरको टोकाईबाट प्रभावित

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४, बेलौरी बजारमा मानसिक सन्तुलन साधारण नभएको भनिएको कुकुरको टोकाईबाट हिजो र आज गरी झण्डै १८ जना मानिसहरू प्रभावित भएका छन्। प्रभावितहरूमा सानादेखि ठूला उमेर समूहका व्यक्ति रहेका छन्।

हल्का रातो तथा हल्का खैरो रङ मिश्रित भएको भनिएको उक्त कुकुर अझैसम्म पनि नियन्त्रणमा आउन भने सकेको छैन। प्रहरी प्रशासनले आफ्नो कार्यक्षेत्र भित्र नपरेता पनि मानिसहरूको सुरक्षाको लागि भनेर उक्त कुकुरलाई नियन्त्रणमा लिन खोज्दा सफल हुन नसकेको भनिएको छ।

त्यस्तै पहिलो दिन हिजो कुकुरको टोकाइबाट पीडित व्यक्तिहरू श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल उपचारको लागि जाँदा रेबिज विरुद्धको सुई सीमित मात्रामा उपलब्ध भएको र एकपटकको प्रयोगमा पाँचजनालाई पुग्ने भएका कारण सुई लगाईहाल्न नमिल्ने  जवाफ पाएपछि पीडित व्यक्ति तथा परिवारहरू आक्रोशित थिए।

यसै सन्दर्भमा हामीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बिष्टसँग कुराकानी गरेका थियौँ। उनले भने, “यो रेबिज विरुद्धको खोप भनेको कुकुरको टोकाई पछि पाँच या १० दिनको अवधिमा समेत लगाउन सकिन्छ। टोक्ने बित्तिकै लगाउन सके त राम्रो हो तर केही दिन रोके पनि डराउन भने पर्दैन। मुख्य कुरा कुकुरको टोकाइपछि साबुनपानीले राम्रोसँग टोकेको ठाउँमा सफा भने गर्नुपर्छ। त्यही अनुसार हामीले उहाँहरुलाई एक दुई दिनमा र कार्यालय समयमा आउन भनेका हौँ। आजै शनिबार पनि हामीले खोप लगाइदियौं। फेरि यो खोप एकपटकको प्रयोगमा पाँच जनालाई लगाउनुपर्ने हुन्छ। यदि कोटा पुगेन भने खेर जान्छ।”

त्यस्तै बेलौरी नगरपालिका पशुसेवा शाखासँग पनि हामीले यसबारेमा बुझ्ने कोसिस गरेका थियौं। शाखा प्रमुख कुलोमणि भट्टले “कुकुरलाई नियन्त्रणमा लिने कोसिस गरिरहेका छौं तर मार्न भने कानुनी व्यवस्था छैन। अर्को कुरा पीडित व्यक्तिहरूको उपचार खर्च उनीहरू स्वयम्ले नै बेहोर्नु पर्छ।”

तर स्थानीयहरू भने स्थानीय सरकार, प्रशासन, वडा कार्यालय र सम्बन्धित सरोकारवालाहरूले यस्तो गम्भीर समस्यामा बेवास्ता गरेको भन्दै आक्रोशित भएका छन्।

यो समाचार तयार पार्दासम्म उक्त कुकुर बेलौरी बजार क्षेत्र र आसपास नहरदेखि विद्यानगरसम्म भौतारीरहेको देख्नमा आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ