केशब भट्ट , चैत २६, कञ्चनपुर। नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ का सभापति तथा युवा नेता एवं समाजसेवी गोपी प्रसाद उपाध्यायले बेलाैरी नगरपालिका अन्तर्गत रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी (ECG) मेसिन प्रदान गरेका छन्। स्वास्थ्य केन्द्रमा इसिजी मेसिन विग्रिएको कारण सेवाग्राहीहरू लामो समयदेखि स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भइरहेका थिए। सो समस्या प्रति संवेदनशील हुँदै उपाध्यायले केन्द्रलाई नयाँ इसिजी मेसिन हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बिष्टले मेसिन प्राप्तिपछि स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे। इसिजी मेसिनको उपलब्धिले बिरामीहरूको जाँचमा सहजता ल्याउनुका साथै कार्यसम्पादनमा पनि उल्लेखनीय सुधार हुने उनले बताए।
सामाजिक सेवामा सक्रिय उपाध्याय विभिन्न अभियानमार्फत गरिब, असहाय, अपांग तथा पीडित वर्गलाई सहयोग गर्दै आएका छन्। ह्वीलचेयर वितरणदेखि लिएर आवश्यक सामाग्री प्रदान गर्ने, विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार र व्यवस्थापनमा समेत उनले अग्रणी भूमिका निर्वाह गरेका छन्। उनको सामाजिक सेवाले धेरै मानिसको जीवनमा सकारात्मक प्रभाव पार्दै आएको छ। उपाध्यायले भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। उनले समाज परिवर्तनका लागि सधैं अग्रसर रहिरहने आश्वासन दिएका छन्।





