बेलौरी नगरपालिकाको कक्षा ८ को परीक्षा नतिजा सार्वजनिक: तीन विद्यालयको शतप्रतिशत सफलता, तीन विद्यालयको शून्य नतिजा

बेलौरी, कञ्चनपुर — शैक्षिक वर्ष २०८१ को नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा बेलौरी नगरपालिकाले सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कुल १२२४ विद्यार्थीमध्ये ६१६ जना विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् भने ५६२ जना विद्यार्थी नन-ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन्। समग्रमा उत्तीर्ण प्रतिशत ५२.२९ रहेको छ।

नगरपालिकामा सञ्चालित विभिन्न विद्यालयमध्ये तीन विद्यालयले उल्लेखनीय सफलता हासिल गरेका छन्। लिटिल गार्डन इङ्ग्लिश बोर्डिङ स्कुल, सनराइज विद्या सदन इङ्ग्लिश स्कुल र रीजेन्सी एकेडेमीले शतप्रतिशत उत्तीर्ण नतिजा ल्याउन सफल भएका छन्। लिटिल गार्डन इङ्ग्लिश बोर्डिङ स्कुलका २९, सनराइज विद्या सदन इङ्ग्लिश स्कुलका १६ र रीजेन्सी एकेडेमीका १३ जना विद्यार्थी सबै ग्रेडेड सूचीमा परेका हुन्।

निजी विद्यालयहरूले समग्रमा उत्कृष्ट प्रदर्शन गरेका छन्। उग्रतारा बाल विद्यालय (९७.३७%), वात्सल्य विद्या निकेतन (९५.८३%), सनराइज बोर्डिङ्ग स्कुल (९५.६५%) लगायतका विद्यालयले उल्लेखनीय नतिजा हासिल गरेका छन्।

सामुदायिक विद्यालयतर्फ हेर्दा, महाकाली माध्यमिक विद्यालय (९०.६३%), सरस्वती माध्यमिक विद्यालय (८५%) र दुर्गा आधारभूत विद्यालय (७५%) ले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका छन्। तर अधिकांश सामुदायिक विद्यालयको नतिजा ५०% भन्दा कम देखिएको छ। यसपटक गोरखनाथ माध्यमिक विद्यालय, कालिका आधारभूत विद्यालय र कृष्ण आधारभूत विद्यालयको ग्रेडेड नतिजा शून्य रहेको छ।

बेलौरी नगरपालिकाका अनुसार बढीमा दुई विषयमा अनुपस्थित वा नन-ग्रेडेड भएका विद्यार्थीहरूलाई आगामी बैशाख २१ र २२ गते पुनः परीक्षा दिने व्यवस्था गरिएको छ।

शिक्षा शाखाका प्रमुख अमित प्रसाद भट्टका अनुसार यो वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा सुधार भएको छ। साथै सामुदायिक विद्यालयहरूले अझै शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन्।

शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार निजी विद्यालयहरूको उत्कृष्ट प्रदर्शन प्रशासनिक तयारी, स्रोत व्यवस्थापन र विद्यार्थीहरूको निरन्तर मूल्यांकनप्रति केन्द्रित प्रयासको परिणाम हो। सामुदायिक विद्यालयमा गुणस्तर सुधार गर्न अभिभावक, शिक्षक र स्थानीय तहबीच थप सहकार्यको आवश्यकता रहेको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ