बेलौरी, कञ्चनपुर — नेपाल शिक्षक महासंघको केन्द्रीय सर्कुलर अनुसार सामुदायिक विद्यालयहरूको सम्पूर्ण शैक्षिक कार्य ठप्प पार्ने निर्णयसँगै बेलौरी नगरपालिका–२ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, जबदियाले नयाँ विद्यार्थी भर्ना अभियान स्थगन गरेको छ। विद्यालयले यही वैशाख २ गते सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक गतिविधि तथा भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको छ।

नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र सिंह भण्डारीका अनुसार उक्त सूचना महासंघको निर्देशनअनुसार विद्यालय प्रशासनले जारी गरेको हो।

उनले भने:
“देश गणतन्त्रमा प्रवेश गरेको धेरै समय भइसक्यो र नयाँ संविधान समेत कार्यान्वयनमा आइसकेको छ। तर अझै पनि २०२८ सालको शिक्षा ऐनकै आधारमा शिक्षा प्रणाली सञ्चालन भइरहेको छ। शिक्षा क्षेत्रको वर्तमान आवश्यकता अनुसार नयाँ ऐन जारी हुन नसक्दा २०७८ र २०८० सालमा उठाइएका शिक्षकका मागहरू अझै अधुरै छन्। ती मागहरू पूरा नगरी शिक्षामा स्थायित्व सम्भव छैन।”
भण्डारीका अनुसार मागहरू सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहनेछ। शिक्षकहरूको आन्दोलनले जिल्लाभरका विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ भने अभिभावकहरू आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित बनेका छन्।
लक्ष्मी माविका प्रधानाध्यापक विरेन्द्र सिंह भण्डारीले परिस्थिति सामान्य भएपछि मात्र नयाँ भर्ना प्रक्रिया सञ्चालन गरिने जानकारी दिएका छन्।





