झापादेखि कञ्चनपुरसम्म: माओवादी केन्द्रको ‘तराई–मधेस जागरण’ अभियान, कञ्चनपुरमा भव्य समापन हुँदै

कञ्चनपुर, वैशाख ११: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सञ्चालन गरेको राष्ट्रियस्तरको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को समापन वैशाख १७ गते कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकास्थित संविधान चोक स्मारकमा भव्यताका साथ हुने भएको छ।झापाको कचनकवलबाट गत फागुन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको यो अभियान पूर्व–पश्चिम लोकमार्ग र हुलाकी राजमार्ग हुँदै देशका विभिन्न जिल्ला पार गरेर अब कञ्चनपुर पुग्ने भएको छ।

कञ्चनपुरमा समापन हुन लागेको यस अभियानलाई ऐतिहासिक बनाउन पार्टीले जिल्ला भर तयारी तीव्र बनाएको छ। वैशाख १० गते कृष्णपुर नगरपालिकाको सिंहपाल वन उपभोक्ता समिति सभाहलमा पार्टी जिल्ला समन्वय समितिको बैठक बसेर कार्यक्रमको विस्तृत तालिका तय गरिएको छ। पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य टेकेन्द्र प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेतृत्वलाई वैशाख १६ गते साँझ ६ बजे पुनर्वास नगरपालिका–११ डोके बजारमा भव्य स्वागत गर्ने निर्णय गरेको छ।यसैगरी पार्टी अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित केन्द्रीय नेताहरू पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा शहिद परिवारहरूसँग विशेष भेटघाट, बसाई तथा छलफल गर्ने कार्यक्रम तय गरिएको छ। सोही क्रममा बेलौरीस्थित पर्यटकीय क्षेत्र शोभाताल नजिक रहेको शहिद पार्कमा नेताहरूले शहिदहरूको सम्झनामा माल्यार्पण गर्नेछन्।

यसै क्रममा बेलौरी नगरपालिकाको सभाहलमा विशेष अन्तरक्रिया हुनेछ भने बेलडाँडी गाउँपालिकामा कोणसभा आयोजना गरिने छ। यी सम्पूर्ण कार्यक्रम सम्पन्न गर्दै अभियान भीमदत्त नगरपालिकास्थित संविधान चोक स्मारकमा पुगेर समापन हुने नेकपा (माओवादी केन्द्र) कञ्चनपुरका जिल्ला पार्टी सचिव सहवीर सुनारले जानकारी दिए।

सचिव सुनारले भने,

यो अभियान मार्फत तराई–मधेसका जनता तथा स्थानीय तहका समस्याहरूको समाधान खोज्न प्रत्यक्ष संवाद गरिएको छ। भीमदत्त नगरमा हुने समापन कार्यक्रमले राष्ट्रिय राजनीतिको केन्द्रसम्म स्थानीय आवाज पुग्ने विश्वास हामीलाई छ।

जिल्लाका पार्टी नेताहरूले अभियानलाई सफल बनाउन सबै स्थानीय तह, कार्यकर्ता, शुभचिन्तक र आमजनसमुदायलाई सहभागी हुन हार्दिक अपिल गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ