धनगढी — मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरूका लागि सदस्य शिक्षा तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम धनगढीस्थित सितार होटेलमा सम्पन्न भएको हो।हालको समयमा व्यापारमा देखिएको मन्दी, मानसिक तनाव, कार्यशैली व्यवस्थापन र आत्मनिर्भरता अभिवृद्धिका लागि ऊर्जा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको सहकारीले जनाएको छ।

कार्यक्रममा राष्ट्रियस्तरका अनुभवी प्रशिक्षक योगी नमराज छंमले सहजीकरण गरेका थिए। उनले योग, ध्यान, गीतसंगीत र जीवन उपयोगी विषयवस्तुहरूमार्फत सहभागी सदस्यहरूलाई उत्साहित बनाएका थिए। करिब १९ वर्षदेखि प्रशिक्षण क्षेत्रमा क्रियाशील प्रशिक्षक छंमको सहजीकरणमा कार्यक्रम झन प्रभावकारी बनेको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा बेलौरी सेवा केन्द्र र धनगढी सेवा केन्द्रबाट आएका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नाचगान, योग अभ्यास र संवादमार्फत रमाइलो तरिकाले महत्वपूर्ण ज्ञान आर्जन गरेको बताए।कार्यक्रममा सहभागी एक सदस्यले भने, “हामीलाई अत्यन्त प्रेरणादायी अनुभूति भयो। यस्तो कार्यक्रमले हामीलाई सहकारीमा आवद्ध भएर केही गर्नुपर्छ भन्ने भावना दिन्छ। हामी मेगा सहकारीका सदस्य हुनुमा गर्व गर्छौं।”

कार्यक्रमबारे जानकारी दिँदै बेलौरी सेवा केन्द्रका प्रबन्धक केशव अवस्थीले यस्ता कार्यक्रमले सदस्यहरूमा सकारात्मक ऊर्जा संचार गर्नुका साथै सहकारीको मूल्यमान्यता र उद्देश्यप्रति उनीहरूलाई अझ नजिक बनाउने विश्वास व्यक्त गरे।उनका अनुसार यही वैशाख १३ गते सोही कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा पनि आयोजना गरिने छ। सहकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






