केशब भट्ट, वैशाख १२,कञ्चनपुर। नेपाली काङ्ग्रेसका नेता सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले आरक्ष पीडितहरूको समस्या समाधानका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

शनिबार जिल्लाको लालझाडी गाउँपालिका–६ स्थित ढक्का शिविरमा आयोजित विशेष ध्यानाकर्षण कार्यक्रममा नेता बिष्टले पीडितहरूको समस्या दिर्घकालदेखि बेवास्ता हुँदै आएकोप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकार र संघीय सरकारसमक्ष ती समस्याहरू प्रभावकारी ढंगले प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने स्पष्ट आश्वासन दिएका हुन। उनले भने, “आरक्षका नाममा पीडित बनेका नागरिकहरूको पीडा अब अनदेखा गर्न सकिँदैन। म तपाईँहरूको आवाज प्रदेश सभामा बुलन्द उठाउनेछु र समाधान नभएसम्म पछि नहट्नेछु।”

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, अधिकारकर्मी तथा स्थानीय समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सहभागीहरूले आरक्ष ऐन कार्यान्वयनका क्रममा भएको विसंगति र त्यसबाट सिर्जित समस्याहरूको गम्भीर समीक्षा गर्दै समाधानका लागि एकजुट आवाज उठाएका थिए।






