काठमाडौ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ्गले बर्षायाममा बाढी, पहिरो तथा प्राकृतिक विपद् बाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न अहिलेबाट नै सरकारले योजना बनाउनुपर्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद तामाङ्गले कञ्चनपुरमा पर्ने दोदा नदी, महाकाली नदी र झर्ना खोलाले हरेक बर्ष बाढीका कारण ठूलो जनधनको क्षति गर्दै आएको बताउँदै विगत वर्षको बाढीले दोदा नदी र झर्ना खोलामा गरेको कटान अझै मर्मत नहुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

यस वर्ष पनि समयमै पूर्वतयारी नहुँदा अझ भयावह क्षति हुन सक्ने सम्भावना रहेको बताउँदै उहाँले सरकारले तत्काल अति संवेदनशील स्थानहरूमा तटबन्ध निर्माण कार्य अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रतिनिधिसभाको सुन्ने समयमा बोल्दै दोदा र चौधर नदीमा बहुउद्देश्यीय तटबन्ध निर्माण गर्न सके मात्रै बाढीको कटानबाट हुनसक्ने क्षतिको दीर्घकालीन समाधान गर्न सकिने बताउनुभयो । उहाँले नदीनाला नियन्त्रण तथा बाढी व्यवस्थापनलाई मात्र होइन, मानव र प्राणीमैत्री बनाउने दृष्टिकोणबाट गुरुयोजना बनाइनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले सभामुख मार्फत नेपाल सरकारका सम्बन्धित मन्त्रालय, प्राधिकरण र सरोकारवाला निकायहरूलाई पूर्ण तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभयो।
साभारःअनमोल प्रेस।





